चीनको आर्थिक मन्दीले विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

चीनको आर्थिक मन्दीले विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । चीनले सन् १९७८ देखि आफ्नो अर्थतन्त्रमा सुधार गर्न थालेपछि यसको अर्थतन्त्र औसतमा ९ प्रतिशतको दरले बृद्धि भइरहेको छ । विश्वको विकास इन्जिन मानिने चीनको अर्थतन्त्रलाई कोभिड–१९ को महामारीले तहसनहस पार्दा सन् २०२० मा चीनको वृद्धि दर माइनस २.२ प्रतिशतमा झरेको थियो ।

जुन चीनले विगतका केही दशकहरूमा हासिल गरिएको आर्थिक वृद्धिदर भन्दा न्यून हो । तर, अर्को वर्ष चीनको अर्थतन्त्र पुनः ट्र्याकमा आई यसको वृद्धिदर ८ प्रतिशतभन्दा बढीमा रेकर्ड भयो । अर्थात् सन् २०२२ मा चीनको अर्थतन्त्रले तीन प्रतिशत मात्रै वृद्धिदर हासिल गर्न सकेको थियो ।

जनवरीमा चीनले सन् २०२३ मा आफ्नो अर्थतन्त्रको वृद्धिदर ५.२ प्रतिशत रहेको घोषणा गरेको थियो । जुन वृद्धि दरका हिसाबले विश्वको शीर्ष अर्थतन्त्रमा भारत मात्र पछाडि थियो । चीनको अर्थतन्त्र भारतको अर्थतन्त्रभन्दा पाँच गुणा बढी छ ।
चिनियाँ नागरिकहरूले आफ्नो देशको अर्थतन्त्र ध्वस्त भएकोमा आक्रोश पनि व्यक्त गर्दै आएका छन् । चीनका एक नागरिकले ‘लामो समयदेखि बेरोजगार र ऋणमा परेको’ भन्दै सहयोगका लागि अपिल गरेका थिए । डच बैंक एआईजीका ग्रेट चाइनाका प्रमुख अर्थशास्त्री लिन सोङ भन्छन्, ‘कोभिड–१९ पछि चीनको रिकभरीमा विश्वका अन्य देशहरू जस्तो चीनले विकास दर बढाउन धेरै आक्रामक नीतिहरू अपनाएको छैन ।’

महामारीभरि चीनको आर्थिक नीति निकै कडा बनाइएको थियो । फलस्वरूप चीनमा मुद्रास्फीतिको चुनौती खडा भएन तर, यसले आर्थिक पुनरुत्थानको गतिलाई सुस्त बनाएका चिनिया विज्ञहरू बताउँछन् ।

चीनका धेरै नागरिकले अहिलेसम्म निर्माण नभएका घरहरूमा आफ्नो बासको पूरा मूल्य तिरेका छन् । इन्भेष्टमेन्ट बैंक युबीएसका वाङ ताओले चीनको अर्थतन्त्र फेरि उकालो लाग्न नसक्नुको अर्को कारण औँल्याउँदै चीन इतिहासकै सबैभन्दा खराब सम्पत्ति बजार गिरावटको अवधिबाट गुज्रिरहेको बताए । ‘चीनको ६० प्रतिशतभन्दा बढी घरपरिवारको सम्पत्ति आवास क्षेत्रमा लगानी गरिएको छ, जब घरको मूल्य घट्छ, मानिसहरू निश्चित रूपमा पैसा खर्च गर्न हिच्किचाउँछन्, ठूला घरायसी उपकरणहरूको खपतमा उल्लेखनीय गिरावट आएको यसको स्पष्ट सङ्केत हो,’ उनले भने ।

चीनको रियल्टी क्षेत्र सन् २०२१ देखि पुँजीको अभावमा संघर्ष गरिरहेको छ । त्यस बेला चीन सरकारले ठूला रियल्टी कम्पनीहरूलाई ठूलो रकम ऋण लिन धेरै प्रतिबन्ध लगाएको थियो । विगत केही वर्षदेखि चीनको सम्पत्ति क्षेत्रले नयाँ परियोजनाका लागि बैंकबाट ठूलो मात्रामा ऋण लिइरहेको छ । यसबाहेक रियल्टी कम्पनीहरूले ऋणपत्र जारी गरेर नयाँ घर निर्माण हुनुअघि नै खरिदकर्तालाई बिक्री गरेर पैसा उठाउँदै आएका छन् । व्यापारको यो मोडेल धेरै देशहरूमा लामो समयदेखि चलिरहेको छ । तर, चिनियाँ रियल्टी व्यवसायीले क्षमताभन्दा बढी ऋण लिएका छन् ।

घरजग्गाको लगानी डुब्ने खतरा

चीनका धेरै नागरिकहरूले घरजग्गाका विकासकर्ताहरूलाई घर बनाउनका लागि पैसा तिरिसकेका छन् । जुन घरहरू केही बनेका थिए भने कही निर्माण भएकै छैनन् । अहिले उनीहरु आफ्नो मेहनतको पैसा गुमाउने खतरामा छन् । यीमध्ये धेरै व्यक्तिहरू यस्ता छन् जसले आफ्नो जीवनभरको पैसा घरहरूमा लगानी गरेका छन्, जुन डुब्ने खतरामा छन् ।

यस्तै, स्थानीय सरकारले पूर्वाधार निर्माणका लागि अर्बौं ऋण लिएका छ । स्थानीय सरकार यो ऋण तिर्न जग्गा बेचेर पैसा कमाउनेहरूमा भर परेको थियो । तर, अहिले घरजग्गा बजार घटेपछि यी सरकार माथि दबाब बढेको छ । इकोनोमिक इन्टेलिजेन्स युनिटका वरिष्ठ अर्थशास्त्री तियानचेन सु चीनको अर्थतन्त्र कुनै संकटमा नरहेको बताउँदै आएका छन् । सन् २०१० को दशकमा ऋण दिएर चीनको आर्थिक वृद्धिदर बढेको उनको विश्वास छ । यस अवधिमा, बजार र पूर्वाधारमा ठूलो वृद्धि चीनले हासिल गरेको उनको भनाइ छ ।

चीनको मन्दीले विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

तिआनचेन सुले चीनको आर्थिक मन्दीले विश्वको सामान आयात, निर्यात, चीनको पर्यटन र भूराजनीतिमा असर पूर्याउने बताउँछन् । ‘चीन वस्तुको प्रमुख आयातकर्ता हो, चीनले विशेष गरी निर्माण क्षेत्रमा प्रयोग सामग्रीको आयत गर्दै आएको छ, सुस्त आर्थिक वृद्धिका कारण यी वस्तुहरूको माग घट्नेछ,’ उनले भने ।

यस्तै उनले चिनियाँ पर्यटकहरू सबैभन्दा बढी पुग्ने देशहरूलाई नोक्सान पु¥याउने बताए । अन्य देशमा आउने चिनियाँ पर्यटकको संख्या महामारीपूर्वक स्तरमा पुग्न गाह्रो हुनेछ । देशमा आर्थिक मन्दीसँगै सार्वजनिक पुँजीको संकट आयो भने सहायता र आधिकारिक ऋण दिएर भूराजनीतिमा प्रभाव पार्ने चीनको क्षमता पनि कमजोर हुनेछ ।

विगत एक दशकमा चीनले आफ्नो विश्वव्यापी पहुँच विस्तार गर्न बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई पछ्याइरहेको छ । यसअन्तर्गत चीनले पूर्वाधार र अन्य परियोजनामा धेरै लगानी गरेको छ । चीनले १५२ देशसँग सम्झौता गरेको छ भने तीन हजारभन्दा बढी परियोजनामा लगानी गरेको छ । तर, कतिपय आलोचकहरू भने बीआरआईका कारण ‘चीनको ऋणको जाल’ मा फसेको बताउँदै आएका पनि छन् । विश्वका धेरै कम वा मध्यम आय भएका देशहरूका लागि चीन बीआरआई मार्फत ऋण पहुँच गर्ने पहिलो विकल्प बनेको छ ।

विश्व बैंकको प्रतिवेदनले माल्दिभ्स, पाकिस्तान र श्रीलंकालाई चीन सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता भएको बताएको थियो । राष्ट्रिय जन काँग्रेसको हालैको अधिवेशनमा सी चिनफिङले गरेको लगानीको वाचा पहिलेको तुलनामा उल्लेखनीय रूपमा घटेको छ । यसको अर्थ आर्थिक मन्दीका कारण चीनलाई ठूलो मात्रामा विदेशमा लगानी गर्न गाह्रो भएको छ । तर, लिन सोङले आर्थिक मन्दीको बावजुद चीनको अर्थतन्त्र यति ठूलो छ कि यसले विश्वव्यापी वृद्धिमा ठूलो योगदान दिने कुरामा जोड दिन्छ । तिआनचेनका अनुसार आगामी पाँच वर्षसम्म विश्व विकासमा चीन २० प्रतिशत साझेदार रहने सम्भावना छ ।

लिन सोङले चीनको लागि प्रगतिको अर्को चरणको अर्थ उच्च–अन्तको विकास र मूल्य अभिवृद्धि वस्तुहरूमा उच्च श्रेणीमा आर्थिक रूपान्तरण हुने विश्वास व्यक्त गरे । चीनको नेशनल पिपुल्स कंग्रेसको ‘दुई सत्र’ ले देशका नीति निर्माताहरूले ठूलो चित्र र दीर्घकालीन प्राथमिकताहरूमा बढी ध्यान दिएको देखाएको छ । जसले चीन अर्को चरणमा अगाडि बढ्न सक्छ कि सक्दैन भन्ने निर्णय गर्नेछ ।

तिआनचेन सुका अनुसार एक दशकभन्दा बढीको वित्तीय विस्तारपछि चीनले अब आफ्नो अर्थतन्त्रको धेरै भाग निजी र विदेशी कम्पनीहरूलाई खोल्नुपर्दछ । चीनले दीर्घकालीन रूपमा मद्दत गर्ने वित्तीय सुधारहरू कार्यान्वयन गरी सार्वजनिक पुँजी दिगो रूपमा उपलब्ध हुने पर्ने उनी बताउँछन् । लिन सोङले चीनको नेतृत्वले नेशनल पिपुल्स कांग्रेसमा तय गरेको ५ प्रतिशत जीडीपी वृद्धि दरको लक्ष्य हासिल गर्ने प्रयास गर्ने विश्वास गरेका छन् । -एजेन्सीको सहयोगमा

Logo