पाकिस्तानी विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु

पाकिस्तानी विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु

केन्द्रबिन्दु
56
Shares

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले ११ जनाको हत्या गरेको अधिकारीहरूले शनिबार बताएका छन्।

स्थानीय समयअनुसार शुक्रबार राति ८ बजेतिर बलुचिस्तान प्रान्तको नौस्की शहरनजिकै छ जना बन्दुकधारीले एउटा बस रोकेरे परिचयपत्र जाँच गरी पञ्जाबको पूर्वी क्षेत्रका नौ जना कामदारलाई अपहरण गरेको प्रहरीले जनाएको छ।

स्थानीय प्रहरीका वरिष्ठ अधिकारी अल्लाह बख्शले भने, ‘राजमार्गबाट दुई किलोमिटर टाढा गोली लागेको अवस्थामा उनीहरूको शव फेला परेको थियो।’

आक्रमणकारीले पछि प्रान्तीय सांसदको कारलाई लक्षित गरी गोली चलाएको बख्शले बताए। गोली चल्दा गाडीमा सांसद नरहेको बुझिएको छ। आक्रमणपछि कार सडक नजिकैको खाल्डोमा खस्दा दुई जनाको मृत्यु भएको हो।

नौश्की जिल्ला प्रशासनका वरिष्ठ अधिकारी हबिबुल्लाह मुसाखाइलले भने,‘प्रहरी र अर्धसैनिक बलले आक्रमणकारीलाई पक्राउ गर्न त्यस क्षेत्रमा खोजी कार्य सुरु गरेका छन् तर आक्रमणकारीहरू यस पटक त्यस क्षेत्रबाट भाग्न सफल भएका छन्।’

बख्शले बन्दुकधारीहरूले ‘बलोच पृथकतावादीहरूको कार्यप्रणाली स्पष्ट रूपमा प्रयोग गरेको’ र आक्रमणको पछाडि कसको हात थियो भन्ने पुष्टि गर्न अनुसन्धान सुरु गरिएको बताए।

पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त बलुचिस्तानमा जातीय पृथकतावादीहरूले दशकौं लामो विद्रोह गर्दै आएका छन्।

लडाकूहरूले विगतमा पाकिस्तानका अन्य स्थानका जातीय पञ्जाबी र सिन्धीहरूलाई लक्षित गरेका थिए। साथै विदेशी ऊर्जा फर्महरूले यस क्षेत्रको धनको साझेदारी नगरी यस क्षेत्रको दोहन गरिरहेको उनीहरूको भनाइ छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शुक्रबार राति भएको आक्रमणलाई ‘आतङ्कवादको घटना’ को संज्ञा दिँदै ‘सहजकर्तालाई दण्डित गरिने’ बताएका छन्।

गत वर्ष अक्टोबरमा बन्दुकधारीले निजी आवास निर्माण गरिरहेका छ जना पञ्जाबी मजदूरको हत्या गरेका थिए।

Logo