टोरोन्टोका प्रहरीमाथि छुरा आक्रमण

टोरोन्टोका प्रहरीमाथि छुरा आक्रमण

केन्द्रबिन्दु
56
Shares

क्यानडाको सबैभन्दा ठूलो शहर टोरन्टोमा शुक्रबार दिउँसो भएको विवादका क्रममा एक प्रहरी अधिकारीमाथि छुरा प्रहार भएको छ।

टोरन्टो प्रहरीका अनुसार कलेज स्ट्रिट र ल्यान्सडाउन एभिन्यूको क्षेत्रमा रहेको एक व्यवसायिक भवनको पार्किङ स्थलमा स्थानीय समयअनुसार दिउँसो १:३३ बजे उक्त घटना भएको हो।

सीटीभी न्यूजले प्राप्त गरेको भिडियोमा अधिकारीहरू पार्किङ गरिएका दुई कारको बीचमा भुइँमा आक्रमणकारी भनिएका एक व्यक्तिलाई नियन्त्रणमा लिन सङ्घर्ष गरिरहेको देखिन्छ।

दुई सुरक्षा अधिकारीले आक्रमणकारीतर्फ आफ्नो हतियार ताकेको र त्यसको केही समयमा नै त्यो व्यक्ति भुइँमा ढेलेको देख्न सकिन्छ।

झडपमा घाइते प्रहरी र संदिग्ध दुवैको अवस्था स्थिर रहेको र अस्पतालमा उपचार भइरहेको छ।

टोरन्टोका नगर प्रमुख ओलिभिया चाउका अनुसार यो हप्ता टोरन्टोका तीन जना प्रहरी अधिकारी घाइते भएका छन्। चाउले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,‘हिंसा कदापि स्वीकार्य हुँदैन।’

प्रहरीमाथिको आक्रमणपछि उक्त क्षेत्रका सडकहरू अवरुद्ध भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Logo