इरानद्वारा इजरायलमाथि आक्रमण, हमलालाई बिफल पारिएको इजरायली दाबी

इरानद्वारा इजरायलमाथि आक्रमण, हमलालाई बिफल पारिएको इजरायली दाबी

केन्द्रबिन्दु
56
Shares

इरान । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा आक्रमण गरेको छ। इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका थियो भने तीमध्ये अधिकांशलाई विफल पारिएको थियो।

केही आक्रमण इराक र यमनबाट समेत भएको इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले जानकारी गराएका छन्। सेनाले आक्रमणमा प्रयोग गरिएका ड्रोन र क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतलाई इजरायली प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ।

प्रवक्ता हागारीले एक टेलिभिजन कार्यक्रममा भने,֥‘इरानी आक्रमण बिफल पारिएको छ।’

हगारीका अनुसार इजरायलतर्फ प्रहार गरिएका कुनैपनि ड्रोन र क्रुज क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रवेश गरेका छैनन् र केही ब्यालेस्टिक क्षेप्यास्त्र मात्र इजरायलसम्म पुगेका छन्।

ब्यालेस्टिक क्षेप्यास्त्रमध्ये एउटाले सेनाको ‘नेभाटिम शिविर’ मा हल्का प्रभाव पारेको उल्लेख गर्दै उनले सैन्य परिसरमा ‘अझै पनि काम भइरहेको’ उल्लेख गरे।

रक्षामन्त्री योआभ ग्यालान्टले भने,‘संयुक्त राज्य अमेरिका र थप साझेदारसँग मिलेर हामीले इजरायली भूमिको रक्षा गर्न सफल भएका छौँ। आक्रमणको जोखिम अझै सकिएको छैन, हामी सतर्क रहनुपर्छ।’

इजरायली बासिन्दालेले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन्।

यसैबीच, आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेका छन् भने इजरायलले दिने जबाफबारे छलफल गर्न ‘वार क्याबिनेट’को बैठक बोलाएका छन्।

उनले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेका छन्।

यसैबीच, इरानको रिभोल्युशनरी गार्डसले एक विज्ञप्तिमार्फत ती आक्रमण ‘इजरायली अपराध’ को जबाफ भएको बताएको छ।

गार्डसले अप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको आक्रमणसमेतलाई इजरायली अपराध भनेको छ। गार्डसले आफ्ना हमलाहरू ‘निश्चित निशानाहरूमा’ लक्षित गरिएको जनाएको छ।

Logo