इजरायलको पछिल्लो निकासी आदेशपछि ६० हजार गाजावासी विस्थापितः राष्ट्रसङ्घ

इजरायलको पछिल्लो निकासी आदेशपछि ६० हजार गाजावासी विस्थापितः राष्ट्रसङ्घ

केन्द्रबिन्दु
84
Shares

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रका मानवतावादी संस्थाले शुक्रबार पछिल्लो इजरायली निकासी आदेशपछि कम्तीमा ६० हजार गाजवासी विस्थापित भई पश्चिमी खान युनूसतर्फ सरेको अनुमान गरेको छ ।

मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालयले उत्तरी र दक्षिणी गाजाको लगभग ४३ वर्ग किलोमिटर क्षेत्रमा यस हप्ता इजरायलले निकासी आदेश जारी गरेको जानकारी दिएको छ ।

ओसिएएचएले गाजामा आफ्ना साझेदारद्वारा करिब २३० विस्थापनस्थल, तीन दर्जन भन्दा बढी पानी, सरसफाई , अस्पतालसहित स्वास्थ्य सुविधाको व्यवस्था गरेको जनाएको छ ।

गाजापट्टीको ८० प्रतिशतभन्दा बढी भूभागमा गत अक्टोबरदेखि निकासी आदेश जारी गरिएको अनुमान ओसिएएचएले गरेको छ । विपक्षीहरू बीच बढ्दो शत्रुता, सहायता अवरोध, असुरक्षालगायतका कारण गाजामा सहायता आपूर्ति चुनौतीपूर्ण बनेको कार्यालयले जनाएको छ ।

मे महिनाको सुरुदेखि रफाह क्रसिङ्ग बन्द भएपछि गाजामा सहायताको मात्रा आधाभन्दा बढी घटेको ओसिएचएले जानकारी दिएको छ । यसै गरी विगत तीन महिनामा केरेम शालोम क्रसिङबाट भित्रिने सहायतामा ८० प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ ।

पछिल्लो समयमा मानवीय सहायताका लागि आवश्यक समन्वयको अनुरोधलाई इजरायली अधिकारीहरूले बारम्बार अस्विकार र अवरोध गरेको ओसिएइचएले जनाएको छ । कार्यालयको अनुसार चालू महिनामा उत्तरी गाजामा जारी ६७ सहायता मिसनमध्ये २४ वटालाई मात्र इजरायली अधिकारीहरूले सहयोग गरेका थिए ।

बाँकीलाई सुरक्षा परिचालनलगायतका कारण देखाइ रद्द गरेको कार्यालयले जनाएको छ ।

Logo