युक्रेनको आक्रमणबाट हुनसक्ने क्षति रोक्न रुसले ‘नयाँ अभियान’ सुरु गर्ने

युक्रेनको आक्रमणबाट हुनसक्ने क्षति रोक्न रुसले ‘नयाँ अभियान’ सुरु गर्ने

केन्द्रबिन्दु
238
Shares

मस्को । मस्कोले युक्रेनसँग जोडिएका तीन वटा सीमा क्षेत्रमा साढे दुई वर्षको द्वन्द्वमा किएभको सबैभन्दा ठूलो सीमापार आक्रमण गर्न लागेको भन्दै यसबाट हुने क्षति रोक्न शनिबारदेखि नयाँ अभियान सुरु गरेको छ ।

स्वतन्त्र विश्लेषकहरूका अनुसार युक्रेनी सेनाले मङ्गलबार बिहान रुसको पश्चिमी कुस्रुक क्षेत्रमा आक्रमण गरेको थियो । उक्त क्षेत्रमा रुसले ट्याङ्क, रकेट लञ्चर र एभिएसन युनिटलगायत थप सैनिक र उपकरणहरू तैनाथ गरेको छ भने सम्भावित आक्रमणबाट नागरिकहरूको हताहत हुनसक्ने भन्दै झण्डै ७५ हजार व्यक्तिलाई अन्य सुरक्षित स्थलमा सारिएको छ ।

नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न र शत्रुका विध्वंसकारी समूहहरूद्वारा गरिएका आतङ्कवादी कार्यहरूको खतरालाई रोक्न भन्दै रुसको राष्ट्रिय आतङ्कवाद विरोधी समितिले शुक्रबार अबेर बेल्गोरोड, ब्रायन्स्क र कुस्रुक क्षेत्रमा ‘आतङ्कवाद विरोधी अभियान’ सुरु गर्न लागेको जनाएको छ ।

रूसी कानुनअनुसार सुरक्षा बल र सेनालाई ‘प्रतिआतङ्कवाद’ अभियानका क्रममा आपतकालीन अधिकार दिइएको छ । यस आपतकालीन अधिकारको प्रावधान अनुसार आवागमनमा प्रतिबन्ध लगाउन सकिने र फोन कलहरू निगरानी गर्न सकिने बताइएको छ । अभियानअन्तर्गत आक्रमण हुनसक्ने क्षेत्रहरूलाई प्रवेश निषेध क्षेत्र (नो–गो जोन) घोषणा गरी सुरक्षा जाँच केन्द्रहरू सञ्चालन गरिएको छ र प्रमुख पूर्वाधार स्थलहरूमा सुरक्षा कडा पारिएको छ ।

आतङ्कवाद विरोधी समितिले युक्रेनले ‘रूसका धेरै क्षेत्रहरूमा स्थितिलाई अस्थिर पार्ने अभूतपूर्व प्रयास’ गरेको बताएको छ । रुसले युक्रेनको आक्रमणलाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै किएभका सेनाले सर्वसाधारणलाई घाइते बनाएको र आवासीय भवनहरू ध्वस्त पारेको बताएको छ ।

युक्रेनी नेताहरू यस अभियानको बारेमा मौन रहेका छन् र किएभको सबैभन्दा नजिकको सहयोगी संयुक्त राज्य अमेरिकाले योजनाहरूको बारेमा पूर्वजानकारी नदिएको बताएको छ । तर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ताको सुरुमा रुसले युक्रेनविरुद्ध सन् २०२२ को फेब्रुअरीदेखि सुरु गरेको आक्रमणको परिणाम ‘महसुस’ गर्नुपर्ने बताएका थिए ।

रुसको रक्षा मन्त्रालयले शनिबार कुस्रुक क्षेत्रमा रहेको युक्रेनी चौकीमा ट्यांक चालक दलले गोली चलाएको र रातभर हवाई आक्रमण गरेको फुटेज सार्वजनिक गरेको छ । रुसले उक्त क्षेत्रमा युक्रेनी सेनाले रातिको समयमा आक्रमण गर्ने प्रयासमा प्रयोग भएका २६ वटा ड्रोन खसालेको पनि जनाएको छ ।

Logo