सुडानमा युद्धविराम वार्ता सुरु हुँदै

सुडानमा युद्धविराम वार्ता सुरु हुँदै

केन्द्रबिन्दु
70
Shares

जेनेभा । सुडानी सरकार नरहने तयारी गरे पनि अमेरिकी मध्यस्थतामा रहेको सुडान युद्धविराम वार्ता स्विट्जरल्याण्डमा बुधबारदेखि सुरु हुने भएको छ ।

सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिएलोले विनाशकारी द्वन्द्वबाट तहसनहस भएका सुडानका जनताले अब पर्खन नसक्ने भन्दै वार्ता अघि बढ्ने बताएका छन् ।

सन् २०२३ को अप्रिलदेखि सुडानका वास्तविक शासक अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेना र उनका पूर्वसहयोगी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच युद्ध चलिरहेको छ ।

आरएसएफको प्रतिनिधिमण्डल अज्ञात स्थानमा बन्द कोठामा हुने वार्ताका लागि स्विट्जरल्याण्डमा छ । तर सरकार निकट सुडानी सशस्त्र बल (एसएएफ) ले निमन्त्रणा स्वीकार गरेको छैन । १० दिनसम्म चल्ने उक्त वार्ताका लागि साउदी अरब र स्विट्जरल्याण्डले संयुक्त रूपमा मध्यस्थता गरेका छन् भने अफ्रिकी सङ्घ, इजिप्ट, संयुक्त अरब इमिरेट्स र संयुक्त राष्ट्रसङ्घ पर्यवेक्षकका रूपमा उपस्थित छन् ।

सुडानमा चलिरहेको हिंसात्मक द्वन्द्वले संसारकै सबैभन्दा खराबमध्ये एक मानिएको मानवीय सङ्कट निम्त्याएको छ । यस द्वन्द्वका कारण हरेक पाँच सुडानीमध्ये एक जना आफ्नो घर छोड्न बाध्य भएका छन् भने दशौँ हजारको मृत्यु भइसकेको छ । देशभरका दुई करोड ५० लाखभन्दा बढी अर्थात् आधाभन्दा बढी जनसङ्ख्या भोकमरीको चपेटामा परेको छ ।

“अहिले शान्ति स्थापनाका लागि उपयुक्त समय हो,” पेरिएलोले मङ्गलबार भने ।

Logo