बङ्गलादेशको अन्तरिम सरकारलाई समावेशी हुन राष्ट्रसङ्घ प्रमुखको आग्रह

बङ्गलादेशको अन्तरिम सरकारलाई समावेशी हुन राष्ट्रसङ्घ प्रमुखको आग्रह

केन्द्रबिन्दु
644
Shares

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बङ्गलादेशमा संसदीय चुनावको आह्वान गर्दै अन्तरिम सरकारलाई समावेशी हुन आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका प्रमुखले महिला तथा अल्पसङ्ख्यक समुदायलाई निर्वाचनमा समावेश गर्न आग्रह गरेका हुन् । “महासचिव गुटेर्रेसले अन्तरिम सरकारको समर्थनमा बङ्गलादेशमा शान्ति पुनःस्थापना गर्न संसदीय निर्वाचनको प्रयासलाई स्वागत गरेका छन्,” महासचिवका उप–प्रवक्ता फरहान हकले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले महिला, युवा, अल्पसङ्ख्यक, आदिवासी समुदाय साथै सम्पूर्ण जनताको आवाजलाई ध्यानमा राख्दै समावेशीताको हरेक प्रयास जारी राख्न अन्तरिम सरकारलाई आग्रह गरे । बढ्दो विरोधका बीच आवामी लिगकी नेत्री शेख हसिनाले अगस्ट ५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बङ्गलादेशले हाल अस्थीर राजनीतिक अवस्थाको सामना गरिरहेको छ ।

मुख्यतया सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शनपछि सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो । देशमा चलिरहेको हिंसाको क्रममा बेपत्ता भएका परिवारका सदस्यहरूको पोस्टर लिएर विरोध प्रदर्शन गरिरहेका अल्पसङ्ख्यक हिन्दू समुदायका सदस्य र बङ्गलादेशी सेनाबीच मङ्गलबार झडप भएको थियो ।

बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार, नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले मङ्गलबार ढाकाको ऐतिहासिक ढाकेश्वरी मन्दिरको भ्रमण गर्दै अल्पसङ्ख्यकहरूलाई देशमा सुरक्षा कायम गर्ने आश्वासन दिएका छन् ।

Logo