गाजा क्षेत्रबाट विस्थापित अधिकांश इजरायली आफ्नो घर फिर्ता

गाजा क्षेत्रबाट विस्थापित अधिकांश इजरायली आफ्नो घर फिर्ता

केन्द्रबिन्दु
126
Shares

जेरूसेलम । हमासको अक्टोबर ७ को आक्रमणपछि गाजापट्टी नजिकै आफ्नो घरबाट विस्थापित भएका लगभग सबै इजरायली घर फर्किसकेको इजरायली अधिकारीहरूले बताएका छन् ।

घातक आक्रमणबाट प्रभावित सीमावर्ती समुदायको पुनर्निर्माण र पुनःस्थापनाको जिम्मा दिइएको सरकारी एजेन्सीका अनुसार ५० हजारभन्दा बढी जनसङ्ख्या रहेको दक्षिणी इजरायली क्षेत्रको ८० प्रतिशतभन्दा बढी मानिस जुलाईसम्म आफ्नो घर फर्केका छन् ।

इजरायली अधिकारीहरूले गाजा सीमा क्षेत्रबाट निकालिएका मानिसहरूलाई राज्यको खर्चमा होटलमा आवासको व्यवस्था गरेका थिए । यो व्यवस्थाको अवधि बिहीबारबाट समाप्त भएको छ । हमासको आक्रमणबाट क्षतिग्रस्त भएका १० किबुट्ज समुदायका बासिन्दाहरूलाई कम्तीमा अर्को एक वर्षका लागि देशका विभिन्न स्थानमा अस्थायी आवास दिइने इजरायलको तेकुमा प्राधिकरणले विज्ञप्तिमा जनाएको छ ।

प्यालेस्टिनी क्षेत्रबाट रकेट हमलाको खतराका कारण गाजा सीमा नजिकै रहेका अन्य समुदायलाई असुरक्षित घोषणा गरिएको छ । इजरायली रक्षा मन्त्रालयले गाजा सीमामा सुरक्षा सुधार गर्न मङ्गलबार एउटा पाइलट परियोजनाको घोषणा गरेको थियो । परियोजनामा बाड़, ड्रोन, कमान्ड सेन्टर र विशेष सञ्चार पूर्वाधार लगानीलाई प्रोत्साहित गरिएको छ । इजरायली आधिकारिक तथ्याङ्कका अनुसार गाजामा चलिरहेको युद्धलाई उत्प्रेरित गर्ने हमासको आक्रमणमा एक हजार एक सय ९८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश आम नागरिक रहेका थिए ।

इजरायली प्रतिशोधात्मक सैन्य आक्रमणले गाजामा ४० हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ । युद्धले यस क्षेत्रमा इरान समर्थित हमास सहयोगीहरूलाई सामेल गरेको छ । यसमा शक्तिशाली लेबनानी समूह हेजबुल्लाह पनि समावेश रहेको छ । इजरायल–लेबनानको दुवै पक्षका दशौँ हजार बासिन्दा हिंसाबाट विस्थापित भएका छन् ।

Logo