युक्रेनद्वारा रूसका दर्जनौँ बस्ती कब्जा

युक्रेनद्वारा रूसका दर्जनौँ बस्ती कब्जा

केन्द्रबिन्दु
336
Shares

किएभ । युक्रेनले रूसको पश्चिमी कुस्र्कमा आफ्नो सैन्य प्रशासनिक कार्यालय स्थापना गरेको दाबी गरेको छ । युक्रेनका शीर्ष कमाण्डर ओलेक्सान्डर सिस्र्कीले यस सैन्य शिविरबाट रूसमाथि आक्रमण जारी रहेको बताएका छन् ।

सिस्र्कीका अनुसार पश्चिमी कुस्र्क क्षेत्रमा खोलिएको यो कार्यालयले कानून र व्यवस्था कायम राख्नेछ र जनताको तात्कालिक आवश्यकताहरू पूरा गर्नेछ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा जनरल सिस्र्कीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा कार्यालय निर्माण गरिएको उल्लेख गरेका छन् । यसैबीच, रूसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले युक्रेनको कदमप्रति प्रतिक्रिया व्यक्त गर्दै कुस्र्क क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन् ।

युक्रेनले पनि बिहीबार रूसी क्षेत्रमा लाभ हासिल गरेको दाबी गरेको थियो । जनरल सिस्र्कीका अनुसार युक्रेनी सेना कुस्र्क क्षेत्रमा ३५ किलोमिटरसम्म प्रवेश गरेको छ । उनीहरूले ८२ बस्तीसहित १,१५० वर्ग किलोमिटर क्षेत्र ओगटेका छन् ।

युक्रेनको रुसमाथि भएको यो अहिलेसम्मकै सबैभन्दा घातक आक्रमण हो । तर युक्रेनले भने रूसी भूमि कब्जा गर्न इच्छुक नरहेको बताएको छ । युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ह्योरही टाइकीले बुधबार एक वक्तव्य जारी गर्दै रूसलाई शान्ति स्थापनाका लागि दबाब दिने प्रयासअन्तर्गत उक्त आक्रमण भएको बताएका छन् ।

Logo