एक दशकमा पहिलो पटक कश्मीरमा विधानसभाको निर्वाचन हुने

एक दशकमा पहिलो पटक कश्मीरमा विधानसभाको निर्वाचन हुने

केन्द्रबिन्दु
322
Shares

श्रीनगर । भारत प्रशासित जम्मू–कश्मीरमा एक दशकमा पहिलोपटक विधानसभा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

“लामो अन्तरालपछि जम्मू–कश्मीरमा चुनाव हुन लागेको छ र हुनेछ”, मुख्य निर्वाचन आयुक्त राजीव कुमारले नयाँ दिल्लीमा पत्रकारहरूलाई भने । यस क्षेत्रको विधानसभाका लागि सेप्टेम्बर १८ देखि अक्टोबर १ सम्म तीन चरणमा मतदान हुनेछ । कूल ८७ लाख मानिस मतदान गर्न योग्य रहेको आयोगले बताएको छ ।

यस क्षेत्रका सबै मतपत्रहरू अक्टोबर ४ मा एकैचोटि गणना गरिनेछ र मतदानको परिणामहरू सोही दिन घोषणा गरिनेछ । कतिपयले चुनावले आफ्नो नेता छनोट गर्न पाउने जनताको अधिकार सुनिश्चित गर्ने बताएका छन् भने केही आलोचकहरूले ९० सिटको विधानसभासँग शिक्षा र संस्कृतिमा नाम मात्रको अधिकार हुने र यस क्षेत्रको महत्त्वपूर्ण निर्णयहरू अझै पनि नयाँ दिल्लीमा निहित रहने दाबी गरेका छन् ।

कश्मीरको पूर्ण स्वतन्त्रता वा पाकिस्तानसँगको विलय माग गर्ने केही कट्टरपन्थी पृथक्तावादीहरूले भने चुनावको विरोध गर्दै करिब १ करोड २० लाख जनसङ्ख्या भएको हिमाली क्षेत्रको भविष्य निर्धारण गर्न जनमतसंग्रहको माग गरेका छन् । सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै मुस्लिम बहुल क्षेत्र भारत र पाकिस्तानबीच विभाजन भएको थियो । दुबै पक्षले यसलाई पूर्ण रूपमा दाबी गर्दै आएका छन् ।

Logo