युद्धग्रस्त यमनमा बाढीः मृत्यु हुनेको सङ्ख्या ६० पुग्यो, हजारौँ प्रभावित

युद्धग्रस्त यमनमा बाढीः मृत्यु हुनेको सङ्ख्या ६० पुग्यो, हजारौँ प्रभावित

केन्द्रबिन्दु
154
Shares

दुबई । युद्धग्रस्त यमनमा भीषण वर्षाका कारण आएको बाढीका कारण जुलाईदेखि अहिलेसम्म कम्तीमा ६० जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार बाढीबाट अन्य १३ जना अझै बेपत्ता भएका र कूल दुई लाख ६८ हजार मानिस प्रभावित भएका छन् ।

राष्ट्रसङ्घीय मानवीय एजेन्सी ओसीएचएले सोमबार जारी गरेको रिपोर्टमा जुलाईपछि अचानक आएको बाढीका कारण होडेडा प्रान्तमा ३६, इब्बमा नौ, मारिबमा आठ र ताइजमा सात जनाको मृत्यु भएको उल्लेख छ । “विद्यालय, सडक र स्वास्थ्य सुविधा लगायतका सार्वजनिक पूर्वाधार प्रभावित भएका छन्”, ओसिएचएले भनेको छ ।

होडेडा र मारिबमा मात्रै बाढीका कारण कम्तीमा छ सय जना घाइते भएका छन् र होडेडा र ताइजमा १३ जना अझै हराइरहेका छन् । नोट्रे डम विश्वविद्यालयका ग्लोबल एडप्टेसन इनिसिएटिभले यमनलाई यस क्षेत्रको सबैभन्दा जलवायु–संवेदनशील देशहरू मध्ये एक भएको बताएको छ । हालका वर्षहरूमा जलवायु परिवर्तनका कारण वर्षाको आवृत्ति र तीव्रतामा वृद्धि भएको अनुभव गरेको रेडक्रस र नर्वेली रेडक्रसको अन्तर्राष्ट्रिय समितिको २०२३ को प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घले गत हप्ता यमनको चरम मौसम अवस्थाका लागि आपत्कालीन प्रतिक्रिया मापन गर्न तत्काल चार लाख नौ हजार डलर आवश्यक रहेको चेतावनी दिएको छ ।

Logo