मैले देशका लागि सकेजति राम्रो गरेँः बाइडेन

मैले देशका लागि सकेजति राम्रो गरेँः बाइडेन

केन्द्रबिन्दु
182
Shares

सिकागो । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सिकागोमा भएको पार्टीको अधिवेशनमा आफ्नो बलबुताले भ्याएसम्म देशका लागि सबैथोक दिएको भन्दै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पार्टीको जिम्मेवारी हस्तान्तरण गरेका छन् । बिदाइको क्षणमा उनले उपराष्ट्रपति ह्यारिसलाई अँगालो हाल्दै नोभेम्बरमा हुन लागेको निर्वाचनका लागि शुभेक्षा प्रकट गरेका छन् ।

“अमेरिका, अमेरिका, मैले तिम्रा लागि सक्दो योगदान गरेँ”, ८१ वर्षीय बाइडेनले करिब एक घण्टा लामो सम्बोधनका क्रममा देशभक्तिपूर्ण एक कवितांश उद्धृत गर्दै भनेयो । उनले नोभेम्बरमा डोनाल्ड ट्रम्पविरुद्ध उपराष्ट्रपतिलाई व्यापक समर्थन गर्न मतदातासँग आग्रह पनि गरे । सन् २०२४ को ह्वाइट हाउसको दौडबाट बाहिरिने बाइडेनको आश्चर्यजनक निर्णयलाई सम्मेलनमा भेला भएका शुभचिन्तकको भीडले बाइडेनलाई तालीको गडगडाहतसहित भव्य स्वागत गरेको थियो ।

बाइडेनले डोनाल्ड ट्रम्पलाई सङ्केत गर्दै ‘आफूलाई पद छोड्ने कुराले कुनै समस्या नपारेको’ बताएका थिए । सन् २०२० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा तत्कालीन राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै पदबाट जाने समयमा देखाएको व्यवहारलाई लिएर कतिपय अमेरिकी रिपब्लिकन पार्टीका नेताहरू पनि खुशी थिएनन् ।

बाइडेनको कमजोर प्रस्तुतीका कारण डेमोक्र्याटिक पार्टीको निर्वाचनप्रति चिन्ता व्यक्त गरेका डेमोक्र्याटहरूको चासोलाई सम्बोधन गर्न र पार्टीलाई पुनः सक्रिय पार्न ह्यारिस सफल भएकी छिन् । पाँच दशक लामो राजनीतिक जीवनको आसन्न अन्त्यबारे सोचिरहेका बेला उनले ट्रम्प प्रशासन ओभल अफिसमा नफर्कियोस् भनेर आफूले जे सोचेका थिए, त्यही गरेको बताए ।

“मलाई राजनीति मन पर्छ तर म मेरो देशलाई बढी माया गर्छु,” बाइडेनले राष्ट्रपतीय उम्मेदवारबाट गरेको त्याग अमेरिकाको हितका लागि भएको जोड दिँदै भने । उनले राजिनामा माग्ने डेमोक्र्याट्सको भावनालाई सम्बोधन गर्दै भने, “म मेरो पार्टी र देशको चिन्ता गर्ने र नेतृत्व गलत व्यक्तिमा नजाओस भन्ने सबैप्रति रिसाउने होइन आभारी हुनुपर्छ भन्छु ।’’

प्रथम महिला जिल बाइडेन र छोरी एश्लेको परिचयपछि बाइडेन र ह्यारिस मञ्चमा प्रवेश गर्न आउँदा चार मिनेटको लामो तालीको गडगडाहटले स्वागत गरिएको थियो भने प्रतिक्रियामा बाइडेन र ह्यारिस दुवैले आँसु पुछेका थिए । ‘हायर लभ’ बोलको गीतमा स्टेजबाट बाहिरिनुअघि बाइडेनले बिदाइ भाषण गर्दा दर्शकमा रहेका धेरै जनाको गहभरी आँशु भरिएको देखिन्थ्यो ।

Logo