विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको ११७ वर्षमा निधन

विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको ११७ वर्षमा निधन

केन्द्रबिन्दु
238
Shares

काठमाडौँ । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको मंगलबार ११७ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ ।

गिनीज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८ वर्षको उमेरमा निधन भएपछि ब्रान्यासलाई विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा स्वीकार गरेको थियो ।

क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट शहरमा रहेको ‘सान्ता मारिया डेल तुरा नर्सिङ होम’मा दुई दशकदेखि बस्दै आएकी ब्रान्यासले सोमबार एक पोस्टमा आफू कमजोर महसुस गरिरहेको बताएकी थिइन् ।

‘मेरो समय आइसकेको छ । मेरा लागि कोही नरुनू, मलाई आँसु मन पर्दैन । मेरा लागि दुःख नमान्नुहोस् । म जहाँ रहे पनि खुसी रहनेछु,’ उनले आफ्नो परिवारद्वारा सञ्चालित सामाजिक सञ्जाल एक्समा बताएकी थिइन् ।

अमेरिकास्थित जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार ब्रान्यासको मृत्युपछि विश्वकै सबैभन्दा वृद्ध जीवित व्यक्ति जापानकी टोमिको इटुका छिन् । सन् १९०८ मे २३ मा जन्मिएकी इटुका हाल ११६ वर्षकी छिन् ।

Logo