रुसका ९२ गाउँ युक्रेनको कब्जामा

रुसका ९२ गाउँ युक्रेनको कब्जामा

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनप्रति नागरिकहरूले प्रश्न उठाउन थालेका छन् । पछिल्लो समय पुटिनविरुद्ध सामाजिक सञ्जालमा नागरिकहरूले आक्रोश व्यक्त गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । न्यूयोर्क टाइम्सका अनुसार रुसको कुस्र्कमा युक्रेनी आक्रमणपछि पुटिनको लोकप्रियता घटेको दावी गरेको छ । युक्रेनी सेनाको आक्रमणलाई रुसी सरकार र विशेषगरी पुटिनको असफलताका रूपमा हेरिएको छ ।

पुटिनको युद्ध नीति असफल भएको भन्दै मानिसहरूले उनको राजीनामाको माग गरिरहेका छन् । युक्रेनी सेनाले रुसको सुदजा सहरमा प्रवेश गरेपछि लेनिनको मूर्ति भत्काएका छन् । गत वर्ष रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको नेतृत्वमा भएको विद्रोहपछि पुटिनको लोकप्रियता घटेको थियो । यद्यपि पुटिनले पछि यसलाई नियन्त्रण गरेका थिए । अब कुस्र्कमा युक्रेनी सेनाको सफलतापछि पुटिनको लोकप्रियतामा आएको गिरावट फेरि बढेको छ ।

अगस्ट ६ तारिखमा युक्रेनले पहिलो पटक रुसको भूभागमा प्रवेश गरी आक्रमण गरेको थियो । त्यसयता युक्रेनले दुई हप्तामा रुसबाट १२६३ वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको दावी गरिएको छ । युक्रेनी सेना कुस्र्कमा २८–३५ किलोमिटर अगाडि बढेको छ भने ९२ गाउँ कब्जा गरिसकेको जनाइएको छ ।
१६ अगस्टमा सुदजामा रुसी र युक्रेनी सेनाबीच युद्ध भएको थियो । त्यहाँबाट रूसी सेना पछि हट्नु परेको थियो ।

सन् २०२४ को ८ महिनामा रुसले कब्जा गरेको भन्दा युक्रेनले २ हप्तामा बढी जमिन कब्जा गरेको युक्रेनले दाबी गरेको छ । दोस्रो विश्वयुद्धपछि कुनै पनि देशले रुसको यति ठूलो भूभाग कब्जा गरेको यो पहिलो पटक हो । यही कारण सामाजिक सञ्जालमा रुसी जनताले पुटिनसँग युद्ध नीतिमा परिवर्तनको माग गरिरहेका छन् । कुस्र्कमा भएको आक्रमणका कारण जनतामा त्रास फैलिएको उनको भनाइ छ ।

Logo