चिनियाँ विद्युतीय सवारी साधनमा शतप्रतिशत शुल्क लगाउँदै क्यानाडा

चिनियाँ विद्युतीय सवारी साधनमा शतप्रतिशत शुल्क लगाउँदै क्यानाडा

केन्द्रबिन्दु
42
Shares

ओटावा । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार चिनियाँ विद्युतीय कार आयातमा शतप्रशित कर लगाउने घोषणा गरेका छन् । यो उत्तरी अमेरिकामा चिनियाँ राज्य–अनुदानित कारहरूको बाढीलाई रोक्ने अमेरिकी उपायसँग मेल खान्छ ।

विद्युतीय सवारी साधन (इभी) को विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता चीनमाथि वातावरणीय श्रम मापदण्डजस्ता क्षेत्रहरूमा ‘अन्य मुलुकजस्तै समान नियम पालना नगरेको’ आरोप लगाउँदै उनले चीनबाट आयात हुने स्टिल र आलुमिनियम उत्पादनमा पनि २५ प्रतिशत अतिरिक्त कर लगाइने बताए ।

संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले हालैका महिनाहरूमा चिनियाँ इभीमाथि क्रमशः शतप्रतिशत र ३८ प्रतिशत कर लगाएका छन् । क्यानाडाको अटो निर्माण उद्योगले एक लाख २५ हजारभन्दा बढीलाई रोजगारी दिएको छ र ओटावाले इभीमा आफ्नो सङ्क्रमणलाई समर्थन गर्न तथा घरेलु विद्युतीय बेट्रीको आपूर्ति शृङ्खला बलियो बनाउन अर्बौं डलर लगानी गरेको छ ।

ओटावाले उसको महत्त्वपूर्ण खनिज उत्खनन क्षेत्रमा नयाँ चिनियाँ लगानीमाथि पनि रोक लगाएको छ । “चिनियाँ इभीको अत्याधिक उत्पादन र उसको अटो क्षेत्रका लागि राज्यको ठूलो अनुदानका कारण हामीले कारबाही गर्न आवश्यक छ”, क्यानाडाको अटलान्टिक तटमा रहेको ह्यालिफ्याक्समा पत्रकार सम्मेलनमा प्रधानमन्त्री ट्रुडोले भने, “हामी दौडमा तल जान नचाहेसम्म हामी उभिनुपर्छ र हामीले यही गरिरहेका छौँ ।”

Logo