भेनेजुएलाका विपक्षी उम्मेदवारलाई पक्राउ पुर्जी जारी गरेकोमा ईयूद्वारा निन्दा

भेनेजुएलाका विपक्षी उम्मेदवारलाई पक्राउ पुर्जी जारी गरेकोमा ईयूद्वारा निन्दा

केन्द्रबिन्दु
126
Shares

ब्रसेल्स । युरोपेली सङ्घ (र्ययू) ले मङ्गलबार विपक्षी राष्ट्रपतिका उम्मेदवार एडमन्डो गोन्जालेज उरुटियालाई भेनेजुएलाको अदालतले जारी गरेको पक्राउ पुर्जीलाई खारेज गरेको छ । गोन्जालेज उरुटियाले जुलाईमा भएको निर्वाचनमा सही रूपमा जितेको दाबी गरेका छन् ।

“म पक्राउ पुर्जीलाई स्पष्ट रूपमा अस्वीकार गर्दछु”, ईयूको विदेश मामिला प्रमुख जोसेप बोरेलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “विपक्षी र नागरिक समाजको दमन र उत्पीडन धेरै भएको छ, भेनेजुएलाका जनताको इच्छालाई सम्मान गर्नुपर्छ ।”

अधिकांश सदस्य वर्तमान राष्ट्रपति निकोलस मदुरोप्रति मित्रवत रहेको भेनेजुएलाको राष्ट्रिय निर्वाचन परिषद्ले जुलाईको मतदानपछि विपक्षी र अधिकांश अन्तरराष्ट्रिय समुदायले विवादास्पद परिणाम भने पनि मदुरोलाई तेस्रो छ वर्षको कार्यकालका लागि पुनः निर्वाचित भएको घोषणा गरेको थियो ।

संयुक्त राज्य अमेरिका, ईयू र धेरै ल्याटिन अमेरिकी देशले विस्तृत मतदान नतिजा नदेखी आएको परिणामलाई मान्यता दिन अस्वीकार गरेका छन् । अन्तिम समयमा मतपत्रमा विपक्षी नेता मारिया कोरिना मचाडोको स्थान लिएका सेवानिवृत्त कूटनीतिज्ञ गोन्जालेज उरुटिया निर्वाचन लगत्तै लुकेर बसेका छन् ।

अदालतले ‘गम्भीर अपराध’ का लागि गोन्जालेज उरुटियालाई वारेन्टका लागि गरेको अनुरोधलाई स्वीकार गरेको भेनेजुएलाको अभियोजक कार्यालयले मङ्गलबार बताएको छ । गोन्जालेज उरुटियाका कथित अपराधहरू मदुरो र उनका सहयोगीहरूले जुलाई २८ मा राष्ट्रपति निर्वाचनमा मत चोरेको विपक्षी आग्रहबाट उत्पन्न भएको अभियोजकहरूले बताएका छन् ।

Skip This
Skip This
Logo