श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेताले जित्दै, पहिलो मार्क्सवादी राष्ट्रपति बन्दै अनुरा

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेताले जित्दै, पहिलो मार्क्सवादी राष्ट्रपति बन्दै अनुरा

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । श्रीलंकामा शनिबार भएको राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । जसअनुसार नेशनल पिपुल्स पावर गठबन्धनका नेता अनुरा कुमारा दिसानायके विजयी बन्ने लगभग निश्चित भएको छ ।

निर्वाचन आयोगको आँकडाअनुसार १० लाख भोट गणना भइसक्दा दिसानायकेले ५० प्रतिशत मत पाएका छन् । श्रीलंकामा राष्ट्रपति निर्वाचित हुनका लागि ५१ प्रतिशत मत ल्याए पुग्छ ।

वामपन्थी पार्टी पिपुल्स लिबरेशन फ्रन्टका नेता दिसानायकेका प्रतिस्पर्धी सजित प्रेमदासा र वर्तमान राष्ट्रपति रानिल विक्रमसिंघेलाई १९–१९ प्रतिशत भोट प्राप्त भएको छ । यदि उनी विजयी भए भने उनी श्रीलङ्काका पहिलो मार्क्सवादी राष्ट्रपति हुनेछन् ।

श्रीलङ्कामा २०२२ को आर्थिक संकटपछि अनुरा कुमारा दिसानायके लोकप्रिय बनेका थिए । गरिबहरूको सहयोग गर्ने उनको वामपन्थी नीतिहरू र जोशपूर्ण भाषणका कारण उनी श्रीलङ्कामा चर्चित छन् । यही कारण उनले आम मतदातालाई आफ्नो पक्षमा तान्न सफल भएको अनुमान गरिन्छ ।

पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षेका छोरा नमल राजपाक्षेले केबल १ प्रतिशत मत पाएका छन् । श्रीलंकाको राष्ट्रपति पदका लागि ३८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नयाँ राष्ट्रपति चयनका लागि शनिबार मतदान भएको थियो । निर्वाचनमा ७० प्रतिशत मतदान भएको छ ।

दुई वर्ष अगाडिको आर्थिक संकटपछि भएको विरोध प्रदर्शन थेग्न नसकेपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर गएका थिए । त्यसपछि पहिलोपटक नयाँ राष्ट्रपति चयनका लागि शनिबार मतदान भएको थियो । हाल श्रीलंकाको आर्थिक अवस्था केही सुध्रिएको बताइन्छ ।

Logo