इजरायली आक्रमणमा परी गाजा टीभी नेटवर्कका क्यामेराम्यानको मृत्यु

इजरायली आक्रमणमा परी गाजा टीभी नेटवर्कका क्यामेराम्यानको मृत्यु

केन्द्रबिन्दु
140
Shares

गाजा सिटी । इजरायली आक्रमणमा गाजा पट्टीमा सञ्चालित एक टेलिभिजन स्टेशनका लागि काम गर्ने एक ‘क्यामेराम्यान’को मृत्यु भएको प्यालेष्टिनी इसलामिक लडाकू समूह (हमास) ले जनाएको छ ।

कतारी प्रसारक अल जजिराले पनि इजरायली सेनाले आफ्नो एक पत्रकारलाई घाइते बनाएको आरोप लगाएको छ ।

अल–अक्सा टीभीका ‘क्यामेराम्यान’ मोहम्मद अल–तानानीलाई बुधबार दिउँसो उत्तरी गाजा शहरस्थित अल–अहली अरब अस्पतालमा सहकर्मीले अन्त्येष्टि गरेको एएफपीका पत्रकारले जनाएका छन् ।

हमासको प्रेस कार्यालयले एक विज्ञप्ति जारी गर्दै एक सञ्चारकर्मीको हत्यालाई ‘घृणित अपराध’ भनेको छ र इजरायली सेना ‘पूर्ण रूपमा जिम्मेवार’ रहेको बताएको छ ।

यसैबीच अल जजिराले बुधबार आफ्ना एक क्यामेराम्यान फादी अल–वाहिदी उत्तरी गाजामा इजरायली गोली लागेर घाइते भएको र यसै साता इजरायली आक्रमणमा घाइते हुने अलजजिराका दोस्रो क्यामेराम्यान बनेको जनाएको छ ।

त्यहाँ उपस्थित एएफपीका एक पत्रकारका अनुसार गाजा शहरको उत्तरमा रहेको जबालियामा इजरायली सेनाले यसअघि सर्वसाधारणलाई खाली गर्न भनेको क्षेत्रमा इजरायली कारबाहीको रिपोर्टिङ गर्ने क्रममा वाहिदीको घाँटीमा चोट लागेको थियो ।

अल जजिराले एक्समा उनको अवस्था गम्भीर रहेको बताएको छ । इजरायली सेनाले एएफपीले यी दुई घटनाबारे टिप्पणीका लागि गरेको अनुरोधमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

इजरायली सेनाले अलजजिराका पत्रकारलाई हमास वा उसको सहयोगी इस्लामिक जिहादसँग सम्बन्ध रहेको आरोप लगाउँदै आएको छ ।

Logo