मुम्बईमा उद्योगपति रतन टाटालाई श्रद्धाञ्जलि दिनेको भीड

मुम्बईमा उद्योगपति रतन टाटालाई श्रद्धाञ्जलि दिनेको भीड

केन्द्रबिन्दु
238
Shares

मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईमा उद्योगपति रतन टाटाको अन्त्येष्टिका लागि बिहीबार शोक मनाउनेहरुको भीड जम्मा भएको छ ।

बुधबार ८६ वर्षको उमेरमा निधन भएका टाटाले टाटा समूहलाई सफ्टवेयरदेखि स्पोर्ट्स कारसम्मका ‘पोर्टफोलियो’सहितको विशाल अन्तर्राष्ट्रिय उद्यममा रूपान्तरण गरेका थिए ।

मुम्बईले उनको निधनमा एक दिन शोक मनाउने घोषणा गरेको छ । टाटाको पर्थिव शरीरलाई बिहीबार दिउँसो अन्त्येष्टि गरिने छ।

भारतको राष्ट्रिय दैनिक ‘द हिन्दू’ पत्रिकाले आफ्नो पहिलो पृष्ठमा उनलाई ‘भारतीय उद्योगको एक टाइटन’ को संज्ञा दिँदै उनको निधनको खबर छापेको छ । हिन्दुस्तान टाइम्सले उनको निधनबाट ‘भारतले आफ्नो मुकुटको गहना गुमाएको’ उल्लेख गरेको छ ।

एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले यो टाटा समूहका लागि मात्र नभई हरेक भारतीयका लागि ठूलो क्षति भएको बताएका छन् । टाटाको जन्म सन् १९३७ मा मुम्बईमा पारसीपरिवारमा भएको थियो, जुन एक गौरवशाली तर घट्दो समुदाय हो जसले बेलायती शासनअन्तर्गत शहरको व्यापारिक मामिलामा ठूलो भूमिका खेलेको थियो ।

उनले न्युयोर्कको कर्नेल युनिभर्सिटीबाट स्नातक गरेपछि आर्किटेक्टको रूपमा आफ्नो जीवनलाई भारतप्रति समपर्ण गरेका थिए । पढाइ सकेलगत्तै उनी स्वदेश फर्की स्वदेशी उद्योगको श्रीवृद्धिका लागि योगदान गरेका थिए ।

टाटाकी हजुरआमाको एक आग्रहपछि उनी सन् १९६२ मा भारत फर्किइ विशाल पारिवारिक व्यवसायमा सामेल भएका थिए । उनले सन् १९९१ मा पारिवारिक साम्राज्यको बागडोर सम्हालेका थिए र त्यस वर्ष भारतले भर्खरै सुरु गरेको आमूल मुक्त बजार सुधारको लहरलाई नेतृत्व दिएका थिए ।

टाटाको २१ वर्षको कार्यकालमा नुनदेखि स्टिलसम्म फैलिएको टाटा समूहले आफ्नो विश्वव्यापी पदचिह्न विस्तार गरेको छ । उनले सन् २००८ मा बेलायतको घाटामा रहेका जगुआर र ल्यान्ड रोभर कार निर्माताहरूलाई २.३ अर्ब डलरमा किन्ने निर्णयले सुरूमा उनको निर्णय कतै गलत भएको त होइन भन्नेहरू देखिए पनि टाटा समूह र उनको लगनशीलताले दुबै ब्रान्डहरूको पुनर्संरचना गर्न र अर्को वर्ष तिनीहरूलाई नाफामा फिर्ता गर्न सक्षम भएको थियो ।

टाटा ग्रुपले उनको परोपकारी कार्यले लाखौंको जीवनलाई छोएको बताएको छ । “शिक्षादेखि स्वास्थ्यसेवासम्म, उहाँको पहलले गहिरो छाप छोडेको छ जसले भावी पुस्तालाई फाइदा पुर्‍याउनेछ,” टाटा कम्पनीले भनेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटालाई ‘दूरदर्शी व्यवसायी, दयालु आत्मा र असाधारण मानिस’ भनेका छन् । मोदीले भारतको सबैभन्दा पुरानो र प्रतिष्ठित व्यापारिक घरानामध्ये एकलाई स्थिर नेतृत्व प्रदान गरेकोमा टाटाको प्रशंसा गरेका छन् ।

Logo