उत्तर कोरियालीहरू युक्रेनमा लडिरहेको ‘झुटो’ आरोपलाई क्रेमलिनद्वारा अस्वीकार

उत्तर कोरियालीहरू युक्रेनमा लडिरहेको ‘झुटो’ आरोपलाई क्रेमलिनद्वारा अस्वीकार

केन्द्रबिन्दु
126
Shares

मस्को । उत्तर कोरियाली सैनिकहरू सम्भवतः युक्रेनमा रुसी सेनाको साथमा लडिरहेको भन्ने सोलको दाबीलाई क्रेमलिनले बिहीबार अस्वीकार गरेको छ ।

“यो अर्को झुटो समाचार जस्तो लाग्छ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई थप विवरण नदिई टिप्पणी गरे ।

युक्रेनको किएभ पोस्टले शुक्रबार गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै एक दिनअघि डोनेट्स्क नजिकैको रुसी कब्जामा रहेको क्षेत्रमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा छ जना उत्तर कोरियाली सैन्य अधिकारी मारिएको बताएको थियो ।

दक्षिण कोरियाका रक्षामन्त्री किम योङ–ह्युनले मङ्गलबार सांसदहरूलाई उक्त रिपोर्ट सम्भवतः सही भएको बताए । “विभिन्न परिस्थितिहरूलाई ध्यानमा राख्दा युक्रेनमा उत्तर कोरियाली अधिकारी र सैनिकहरू हताहत भएको सम्भावना अत्यन्त बढी छ भनी हामीले मूल्याङ्कन गरेका छौँ”, किमले भने, “रुस र उत्तर कोरियाबीच सैन्य गठबन्धन जस्तै पारस्परिक सम्झौताहरूका कारण नियमित सेना तैनाथ गर्ने विषय अत्यन्त सम्भावनायुक्त छ ।”

डोनेट्स्क क्षेत्रको युद्ध क्षेत्रमा उत्तर कोरियाका ‘थोरै सङ्ख्यामा युद्ध इन्जिनियरहरू’ रहेको युक्रेनको दुष्प्रचारविरोधी केन्द्रका प्रमुख लेफ्टिनेन्ट आन्द्रिय कोभालेन्कोले शनिबार टेलिग्राममा लेखेका थिए ।

उनले तिनीहरूले प्योङयाङको गोलाबारुदको प्रयोगको अनुगमन गरिरहेको बताए । उनका अनुसार रुस बढ्दो रूपमा उत्तर कोरियाली गोलबारुदमा निर्भर छ तर ती गोलाबारुद उत्तर कोरियाली क्षेप्यास्त्रहरूभन्दा ‘निम्न गुणस्तर’ का छन् ।

उत्तर कोरियाली क्षेप्यास्त्रहरू युक्रेनमा रुसी सेनाद्वारा तैनाथ गरिएको विशेषज्ञहरूले लामो समयदेखि भन्दै आएका छन् । मस्को र प्योङयाङ दुवैले उक्त दाबीलाई अस्वीकार गरेका छन् ।

प्योङयाङले युक्रेनमा प्रयोग गर्न रुसलाई हजारौँ कन्टेनर हतियार पठाएको दक्षिण कोरियाले पनि दाबी गरेको छ । आणविक सशस्त्र उत्तर कोरियाले हालैका वर्षहरूमा सार्वजनिक रूपमा मस्कोसँग सैन्य सम्बन्ध सुदृढ बनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जुनमा प्योङयाङको दुर्लभ भ्रमण गर्दा उत्तर कोरियाली नेता किम जोङ उनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

Logo