उत्तरी लेबनानमा भएको घातक इजरायली आक्रमणको जाँच गर्न राष्ट्रसङ्घको आग्रह

उत्तरी लेबनानमा भएको घातक इजरायली आक्रमणको जाँच गर्न राष्ट्रसङ्घको आग्रह

केन्द्रबिन्दु
112
Shares

जेनेभा । संयुक्त राष्ट्रसङ्घले मङ्गलबार उत्तरी लेबनानको आइटो गाउँमा भएको इजरायली आक्रमणको ‘तत्काल, स्वतन्त्र र विस्तृत अनुसन्धान’ को माग गरेको छ । उक्त आक्रमणमा २२ सर्वसाधारणको मृत्यु भएको बताइएको छ ।

“बाह्र महिला र दुई बालबालिकासहित २२ जना मारिएको हामीले सुनेका छौँ” सोमबारको आक्रमणबारे पत्रकारहरूलाई बताउँदै संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले भने, “यी तथ्यलाई ध्यानमा राख्दा हामीलाई युद्धको कानून र विभेद, अनुपात र समानुपातिकताका सिद्धान्तहरूका सम्बन्धमा वास्तविक चिन्ता छ, हाम्रो कार्यालयले यस घटनाको तत्काल, स्वतन्त्र र विस्तृत अनुसन्धान आह्वान गर्दछ ।”

सेप्टेम्बरमा लेबनानमा आक्रमण गरेयता इजरायलका धेरै आक्रमण अहिलेसम्म मुख्यतया हिजबुल्लाहले आफ्नो शक्ति आधार निर्माण गरेको दक्षिणी क्षेत्रका शिया मुस्लिम बहुल क्षेत्रहरूमा केन्द्रित भएका छन् ।

सोमबार उत्तरमा भएको आक्रमण स्थलमा रहेका एएफपीका एक फोटोग्राफरका अनुसार उक्त आक्रमणले ईसाई बहुल गाउँको प्रवेशद्वारमा रहेको एउटा आवासीय भवनलाई ध्वस्त पारेको थियो ।

भग्नावशेषमा शरीरका अङ्गहरू छरिएका थिए, रेडक्रसका स्वयंसेवकहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका थिए भने एम्बुलेन्सहरूले घाइतेहरूको उद्धार गरिरहेका थिए ।

हिजबुल्लाहले करिब एक वर्षदेखि इजरायलसँग सीमापार गोलाबारी गर्दै आएको थियो । उक्त समूहले गाजामा इजरायलको विनाशकारी स्थल र हवाई आक्रमणको जवाफमा आक्रमण गरेको बताउँदै आएको छ । सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी समूह हमासको सशस्त्र शाखाले गाजाबाट इजरायलमा अचानक आक्रमण गरेपछि गाजा युद्ध सुरु भएको थियो ।

इजरायल–लेबनाा सीमामा करिब दैनिक गोलाबारीका कारण गत महिना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहरूलाई कुल्चने प्रतिज्ञा गरेपछि नाटकीय रूपमा तनाव बढ्नुअघि नै दुवैतर्फका दशौँ हजार मानिस विस्थापित भएका थिए । -एएफपी

Logo