गाजा बन्धकको रिहाइमा सहयोग गर्नेलाई आर्थिक पुरस्कार प्रदान गर्ने इजरायली उद्यमीहरुको प्रस्ताव

गाजा बन्धकको रिहाइमा सहयोग गर्नेलाई आर्थिक पुरस्कार प्रदान गर्ने इजरायली उद्यमीहरुको प्रस्ताव

केन्द्रबिन्दु
84
Shares

जेरुसेलम । एक वर्ष लामो गाजा युद्ध युद्धविराम सम्झौतामा पुग्ने घट्दो सम्भावनाबाट निराश भएका केही इजरायली उद्यमीहरूले बन्धक रिहा गर्नेलाई आर्थिक पुरस्कार प्रदान गर्ने फरक मार्ग खोजेका छन् ।

सोडा स्ट्रिमका पूर्व सिइओ डेनियल बिर्नबामले सोमबार एएफपीलाई सामाजिक सञ्जाल एक्समा गाजाबाट जीवित इजरायली बन्धकलाई उद्धार गर्ने जो कोहीलाई एक लाख डलर नगद वा बिटक्वाइन दिने घोषणा गरेपछि करिब १०० वटा फोनकलहरू प्राप्त भएको बताए ।

इजरायलमा आधारित सोडा कम्पनीका पूर्वअध्यक्षले आफ्नो प्रस्ताव बुधवार मध्यरातसम्म मान्य रहेको बताए । बिर्नबामले अधिकांश कलहरू ठट्टा वा धम्की भए पनि त्यसमध्ये १० देखि २० वैध हुन सक्ने र थप प्रमाणिकरणका लागि इजरायली अधिकारीहरूलाई हस्तान्तरण गरिएको जानकारी दिए ।

यति धेरै बन्धकहरूका बीच हमाससँग सम्बद्ध नभएका केही नागरिकसँग बन्दीहरूको जानकारी हुनुसक्ने बिर्नबामले बताए । अक्टोबर ७ ,२०२३ मा हमासले गरेको इजरायली आक्रमणमा २५१ जनालाई बन्धक बनाइएका थिए । तीमध्ये ९७ जना अझै पनि गाजामा बन्दी रहेको इजरायली अधिकारीहरूले बताएका छन् ।

इजरायलको प्रतिशोधात्मक अभियानले अहिलेसम्म गाजामा कम्तिमा ४२ हजार ६०३ व्यक्तिको ज्यान लिएको छ, जसमध्ये अधिकांश आमनागरिक रहेको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयको तथ्याकले जनाएको छ ।

“म सबैलाई फिर्ता पाउने आशा गरिरहेको छैन तर यदि हामीले एउटा मात्र बन्धक फिर्ता पायौँ भने म खुसी हुनेछु”, बिर्नबामले भने । उनले यस विषयमा इजरायली सरकारबाट अनुमति नलिएको बताए । “मलाई लाग्छ वित्तीय पुरस्कारको तत्व निजी क्षेत्रबाट आउनुपर्छ, हेरौँ यसले काम गर्छ कि गर्दैन। हामीले अहिलेसम्म जे गर्यौ त्यसले केही काम गरिरहेको छैन ”, उनले भने ।

बिर्नबामको पहलको बारेमा सुनेपछि इजरायली–अमेरिकी घरजग्गा विकासकर्ता डेभिड हेगरले पनि यसका पैसा जुटाउन थालेको बताए । उनले आइतबार इजरायली ‘च्यानल १२’ लाई बताएअनुसार हालसम्म आफ्ना साथीहरुको सहयोगबाट लगभग ४ लाख डलर जम्मा गरिसकेका छन् र अन्य व्यापारीलाई पनि योगदान गर्न आह्वान गरेका छन् ।

Logo