अटल विहारी वाजपेयी: कवि हुँदै प्रधानमन्त्रीसम्म

अटल विहारी वाजपेयी: कवि हुँदै प्रधानमन्त्रीसम्म

केन्द्रबिन्दु
0
Shares

तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल अटल विहारी वाजपेयीलाई भारतीय नागरिकले राजनीतिक दलको नेता या भारतका पूर्वप्रधानमन्त्रीका रुपमा मात्र नभएर एकजना सन्त नेताका रुपमा पनि हेर्ने गर्छन् ।

अविवाहित रहेका र एकजना कविको पनि पहिचान बनाएका यस्ता नेता वाजपेयीको बिहीबार साँझ ५ बजे निधन भएको छ । अल इन्डिया मेडिकल इन्स्टिच्युट् अफ मेडिकल साईन्स (एम्स) ले बिहीबार साँझ उनको निधनको घोषणा गरेपछि भारतीय राजनीतिमा उनको योगदान र व्यक्तित्वको चर्चा शुरु भएको छ ।

उनी भारतमा तीन पटक प्रधानमन्त्री बनेका थिए । उनको निधनप्रति दुख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द मोदीले उनको निधनले भारतवर्षमै ठूलो र अपुरणीय क्षति पुगेको छ भनेका छन् । उनले वाजपेजी भारतका एक सम्मानित व्यक्ति भएको पनि बताएको छ । करिब ३६ घण्टादेखि उनको स्वास्थ्यमा गम्भीर सङ्कट उत्पन्न भएको समाचारहरु आएका थिए ।

वाजपेयी भारतीय जनता पार्टी (बिजेपी) का संस्थापक नेता हुन् । हाल भारतको राज्य सत्ता सोही पार्टीले चलाएको छ र सोही पार्टीका नेता नरेन्द्र मोदी यहाँको प्रधानमन्त्री छन् । प्रधानमन्त्री मोदीले उनलाई आफ्नो राजनीतिक जीवनको प्रेरणाको स्रोतका रुपमा लिने गरेका छन् ।

मधुमेहका बिरामी वाजपेयीका ९३ बर्षीय नेता गत जुन ११ देखि एम्स अस्पतालमा उपचाररत थिए । उनलाई मिर्गौलाको सङ्क्रमणलगायत विभिन्न स्वास्थ्य समस्या देखिएको थियो । सो अस्पतालले बिहीबार उहाँको स्वास्थ्य अवस्था सार्वजनिक गर्न जारी गरेको विज्ञप्तिमा उनको अवस्था ‘चिन्ताजनक’ भनेको थियो ।

बिहीबार साँझ वाजपेजीलाई दिल्लीको उनको निवासमा नै राखिएको थियो । उनको राजकीय सम्मानका साथ शुक्रबार अपरान्ह ४ बजे अन्त्येष्टि गरिने विजेपीका प्रमुख अमित शाहले बताएका छन् ।

वाजपेयीको श्रद्धाञ्जलिका लागि शुक्रबार बिहानबाट मध्याह्न १:३० बजेसम्म उनको पार्थिव शरीरलाई दीन दयाल उपाध्याय मार्गमा रहेको विजेपीको मुख्य कार्यालयमा राखिएको छ । यसपछि उहाँको शवयात्रा निकालिने छ । यस यात्रामा लाखौँको सङ्ख्यामा जनसहभागीता रहने अनुमान गरिएको छ ।

वाजपेयीको अन्तिम यात्रामा हुनसक्ने ठूलो जनसहभातालाई मध्यनजर गरेर शुक्रबार भारतीय राजधानी नयाँ दिल्लीकै सुरक्षा व्यवस्थामा पनि कडाई गरिएको छ । अपराह्न ४ बजेपछि राजघाटनजिकै राष्ट्रिय स्मृतिमा उहाँको अन्तिम संस्कार गरिने जानकारी दिइएको छ ।

पाकिस्तानका भावी प्रधानमन्त्री अर्थात तेहरिक इन्साफका नेता इमरान खानले पनि वाजपेयीको निधनति दःुख व्यक्त गरेका छन् । उनले पाकिस्तान र भारतको द्विपक्षीय सम्बन्ध सुधारको प्रयासमा वाजपेयीको योगदानलाई अविस्मरणीय रुपमा सम्झना गरिने उहाँले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन् ।

त्यसैगरी भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीले लाखौँ व्यक्तिले वाजपेयीलाई माया र सम्मान गर्ने बताउनु भएको छ । उहाँले आफ्नो ट्वीटरमा भारतमाताले आज एक सपूत गुमाएको बताएका छन् ।

सन् १९२४ डिसेम्बर २५ तारिखका दिन उत्तर प्रदेशको आगरा जनपदको प्राचीन स्थान बटेश्वरमा उहाँको जन्म भएको थियो । उहाँले कानपुरको डी.ए.वी. कलेजबाट राजनीतिशास्त्रमा प्रथम श्रेणीमा एम.ए. उत्तीर्ण गर्नु भएको थियो । पछि उहाँले एल.एल.बी. को पढाई शुरू गरेपनि छोडेर विद्यार्थी कालदेखि नै राष्ट्रिय स्वयंसेवक सङ्घमा लाग्नुभएको थियो ।

महात्मा रामचन्द्र वीरद्वारा रचित अमर कृति “विजय पताका” पढेर आफू उत्प्रेरित भएको बताउने बाजपेयीले डा. श्यामप्रसाद मुखर्जी र पं.दीनदयाल उपाध्यायको निर्देशनमा राजनीतिको पाठ पढ्नु भएको थियो ।

भारतीय जन सङ्घको संस्थापक वाजपेयी सन् १९६८ देखि १९७३ सम्म त्यसको अध्यक्षको रूपमा राजनीतिक नेतृत्व गर्नुभयो । सन् १९५५ मा लोकसभाका लागि गरेको पहिलो पटकको प्रतिस्पर्धामै उनी पराजित भए । सन् १९५७ मा बलरामपुरबाट भने जनसङ्घको तर्फबाट विजयी भई लोक सभामा पुग्न सफल भए ।

सन् १९५७ देखि १९७७ सम्म जनसघंको संसदीय दलको नेता बने भने १९६८ देखि १९७३ सम्म भारतीय जनसङ्घको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हाले । सन् १९७७ देखि १९७९ सम्म भारतको विदेशमन्त्री बनेर उहाँले विदेशमा भारतको छवि राम्रो बनाउन सफल भए । उनले संयुक्त राष्ट्रसंघमा हिन्दीमा भाषण गरेर भारतीयलाई गौरवान्वित गराएको थियो ।

सन् १९८० मा भारतीय जनता पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुभएका बाजपेयीले ६ अप्रिल, १९८० मा सो पार्टीको अध्यक्ष पदको जिम्मेवारी पाउनुभयो । त्यसपछि दुईपटक राज्यसभामा निर्वाचित भए र १९९७ मा प्रधानमन्त्रीका रूपमा पहिलो पटक देशको बागडोर सम्हाल्ने ऐतिहासिक अवसर पाए ।

उनले सन् १९९८ को अप्रिल १९ तारिखका दिन पनि पुनः प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै १३ दलको गठबन्धन सरकार मार्फत् पाँच वर्षमा देशको विकासमा अनेक आयाम थपे ।

वाजपेयीकै नेतृत्वमा सन् २००४ को लोकसभा चुनावमा भिडेको भाजपाले नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि प्रतिपक्षमा बस्न बाध्य भयो । त्यसपछि उनले राजनीतिबाट सन्यास लिएको घोषणा गरे ।

आफ्नो कार्यकालमा उनले परमाणु शक्ति सम्पन्न देशहरूको सम्भावित क्रोधबाट विचलित नभई अग्नि दुई नामक परमाणु परीक्षण गरेर देशको सुरक्षाका लागि दृढ कदम उए । उनले सय बर्षभन्दा लामो कावेरी जल विवाद समाधान गरे भने ग्रामीण रोजगार सृजना एवम् विदेशमा बसेका भारतीय मूलका मानिसहरूका लागि वीमा योजना पनि शुरू गरे । एजेन्सी

Logo