पूर्वी गुटामा गएरातिदेखि युद्धविराम

पूर्वी गुटामा गएरातिदेखि युद्धविराम

केन्द्रबिन्दु
0
Shares

सिरियाको पूर्वीक्षेत्र गुटामा बिहीबार मध्यरातबाट युद्धबिराम घोषणा गरिएको छ । 

सिरियाली विद्रोही समूहका प्रवक्ताले नै शुक्रबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । तर युद्धविरामको पालनाका बारेमा पनि विभिन्न टिकाटिप्पणी आएका छन् ।युद्धबिराम पछि लडाकू र उनका परिवारजनलाई पनि त्यहाँबाट अन्यत्रै लगिएको बताइएको छ । यस विषयमा पहिले नै सम्झौता भएको एकजना अधिकारवादीले जनाएका छन् । 

रुस र सिरियाली सरकारी मध्यस्थकर्ताले गरेको सम्झौताअनुसार गएरातिदेखि युद्धविराम गर्ने र त्यहाँबाट लडाकू र उनका परिवारलाई बाहिर सुरक्षित स्थानतर्फ जान दिने बताइएको थियो । ती लडाकू तथा सो क्षेत्रका स्थानीय बासिन्दा र बाहिर जान चाहेका सर्वसाधारणलाई पनि हाल सिरियाली सरकारको नियन्त्रणमा रहेको इदलिब प्रान्तमा लगिएको छ । 

यद्यपी इदलिब प्रान्तमा सरकारले दुई दिनमात्र अघि गरेको हवाई कारबाहीमा परी २८ सर्वसाधारणको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । पूर्वी गुटामा पछिल्लो दुई महिनायता भएको यस्तो हमलामा परी एक हजारभन्दा बढीको ज्यान गएको छ । साथै यसरी मारिनेमा बालबालिका समेत कम्तीमा एक चौथाइ रहेका छन् । 

यस्ता आक्रमणका कारण यी क्षेत्रबाट मात्र चार लाखभन्दा बढी सिरियाली भागेर अन्यत्र सरेका वा विदेशिएका छन् । ठूलो संख्यामा बालबालिकासहित सर्वसाधारणको ज्यान गएपछि त्यहाँ युद्धविरामका लागि दबाब आएको थियो । राष्ट्रसंघको शरणार्थीम्बन्धी सहायता निकायले यी पछिल्ला हवाई हमला र काबारहीका कारण चार लाखजना भन्दाबढी सिरियाली विस्थापित भएका जनाएको छ । 

पूर्वीगुटा क्षेत्रमा पुनःनियन्त्रण कायम गर्ने निहुमा सिरियाली सुरक्षाबलले हिंसात्मकरुपमा आक्रमण गरेको बताइएको छ । सिरियामा गएको आठ वर्षदेखि यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै आन्दोलन सुरु भएको थियो । त्यहाँ जारी गृहयुद्धमा आतंककारी समूह अल कायदा र इस्लामिक स्टेट्स बढ्दै गएका छन् । जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । 

त्यसैगरी लाखौँ घाइते भएका छन् भने अरु लाखौँलाख नागरिक घरबार बिहीन भई स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य छन् । संयुक्त राष्ट्रसंघले सिरियामा शान्तिपूर्ण वार्ताको माध्यमबाट जारी हिंसात्मक गतिविधि रोक्ने प्रयास गरिरहेको भएपनि त्यो सम्भव हुन सकिरहेको छैन । 

आस्ताना वार्ता निष्कर्षहीन 

यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार इरान, रुस र टर्कीका विदेशमन्त्रीबीच सिरियाको विषयलाई लिएर काजकिस्तानको राजधानी आस्तानामा हालै सम्पन्न त्रिदेशीय वार्ता पनि निष्कर्षबिहीन भएको छ । 

मस्को र तेहरानको समर्थन रहेको सिरियाली सरकारले दमासकसको बाहिरी इलाकामा अवस्थित पूर्वीगुटामा हवाई कारबाही गरेको एक महिनापछि यो छलफल भएको थियो ।
सिरियाको राजधानी दमासकसको उपनगरको रुपमा रहेको गुटा सहरको पूर्वीभागमा जारी रहेको भयावह मानवीय अवस्था नै यस छलफलको प्रमुख एजेन्डाको रुपमा रहेको बताइएको थियो । 

छलफलमा यी तीन देशका विदेशमन्त्री इरानका मोहमद जाभेद, रुसका सेर्गेइ लाभरोभ र टर्कीका मेभ्लुट चागुसोङ्लुले शान्तिवार्ताका लागि पहल गर्नुभएको थियो । यस विदेश मन्त्रीस्तरीय छलफलले इस्तानबुलमा आगामी अप्रिल ४ तारिखमा हुने तीन राष्ट्रका राष्ट्रपतिको वार्ताको आधार बनाउने अनुमान गरिएको थियो ।

Logo