उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियामा

उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियामा

केन्द्रबिन्दु
0
Shares

सोल ।  दक्षिण कोरियामा शुक्रबारबाट सुरु हुन लागेको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा सहभागिताका लागि उत्तर कोरियाली उच्चस्तरीय टोली शुक्रबार दक्षिण कोरिया पुगेको समाचार छ । 

उत्तर कोरियाको तर्फबाट किम यङ–नामको नेतृत्वको एक प्रतिनिधिमण्डल शुक्रबार दक्षिण कोरिया पुगेको छ । नाम उत्तर कोरियाको संसदका प्रमुख हुनुहुन्छ । उहाँ विगत निकै लामो समयपछि दक्षिणको भ्रमणगर्ने उत्तर कोरियाली एक उच्च सरकारी अधिकारी हुन । उक्त प्रतिनिधिमण्डलमा उत्तर कोरियाली नेता किम जोन उनकी बहिनी पनि हुन । 

नाम नेतृत्वको प्रतिनिधिमण्डल बोकेको विमान शुक्रबार बिहान दक्षिण कोरियाको पश्चिमी बन्दरगाह सहर इन्चोनको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सेतो रङ्गको जेट विमान शुक्रबार सो विमानस्थलमा अवतरण गरेको यहाँका राष्ट्रिय टेलिभिजनहरुले श्रव्यदृश्य प्रशारण गरेका समाचारमा जनाइएको छ । सो विमानस्थलमा उक्त विमान अवतरण गर्दा सुरक्षा व्यवस्था अघिल्लो समयको भन्दा कडा बनाइएको थियो । ठूलो संख्यामा सुरक्षाकर्मी तथा हवाई उड्डयन क्षेत्रका अधिकारीहरु सो विमानस्थलमा उपस्थित थिए । 

उत्तर कोरियाको राष्ट्रिय झण्डा राखिएको उक्त विमानमा उत्तर कोरियाली नेता नामको साथमा अन्य तीनजना उच्च सरकारी अधिकारी र १८ जना सहयोगी कर्मचारी संलग्न रहेको जानकारी दक्षिण कोरियाली एकता मन्त्रालयले दिएको छ । उक्त प्रतिनिधिमण्डल आइतबारसम्म यहाँ रहने छ । उनीहरूले दक्षिण कोरियाको भ्रमण थाल्ने कुराको जानकारी उत्तर कोरियाको सरकारी निकायले यसअघि नै औपचारिक रुपमा सार्वजनिक गरेको थियो । 

यति उच्च तहमा दक्षिण कोरियाली अधिकारी दक्षिण कोरिया पुगेकोले त्यहाँ राजनीतिक भेटघाट पनि हुनसक्ने समाचारहरु आइरहेका छन् । तर यस विषयमा भने उत्तर कोरियाले केही बताएको छैन । 

राष्ट्रिय एकता मन्त्रीद्वारा स्वागत 

उत्तर कोरियाली उक्त उच्चस्तीय प्रतिनिधिमण्डललाई दक्षिण कोरियाली एकतामन्त्रीले स्वागत गरेको जनाइएको छ । दक्षिण कोरियाली एकतामन्त्री चो म्योङ गियोन उक्त प्रतिनिधिमण्डलको स्वागतका लागि विमानस्थल पुग्नुभएको थियो । 

मन्त्री च्यो, उपमन्त्री चुन हाउसुन, दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका सुरक्षा उपनिर्देशक नाम ग्यानपो पनि उहाँहरुको स्वागतका लागि उक्त विमानस्थलमा पुग्नुभएको एकता मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । विदेशीहरुको स्वागतका लागि दिने उच्चस्तरीय सम्मान दक्षिण कोरियाले दिएको बताइएको छ । मन्त्रीस्तरका व्यक्ति विमानस्थलमा पुगेर गरिएको यो स्वागत उच्चस्तरीय रहेका पनि बताइएको छ । 

यस खेलकूदको शुक्रबार उद्घाटन हुदैछ । त्यसैगरी उक्त शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा दुई कोरियाका खेलाडीहरूले एउटै झण्डामुनि ‘मार्च’ गर्नेछन् । 
उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तर्राष्ट्रियरुपमा आलोचना भएको छ । उसले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ । 

उक्त कटुतापूर्ण सम्बन्धलाई सुधारका रुपमा विकास गर्ने सुविधा यसै खेलकूदबाट प्राप्त हुनसक्ने भएकोले उत्तर कोरियाको आणविक होडको अवस्थामा सुधार ल्याउन सकिने अपेक्षा पनि विश्व समुदायले गरेको विश्लेषण गरिएको छ । 

अमेरिकासँग वार्ता हुदैन– उत्तर कोरिया 

यसैबीच ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरियामा रहदा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग द्विपक्षीय वार्ता नगर्ने स्पष्ट गरेका छन् । 
दक्षिण कोरियामा भेटवार्ताका सम्बन्धमा कुनै पूर्व तयारी र सम्भावना पनि नरहेको उत्तर कोरियाले स्पष्ट गरेको बताइएको हो । 

यस खेलकूदमा चीन र अमेरिकी राष्ट्रपतिहरुले पनि आफ्ना प्रतिनिधि पठाउने भएका छन् । यस क्रममा ती देशका प्रतिनिधिहरुसँग उत्तर कोरियाली अधिकारीले पनि भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको थियो । तर पनि सो सम्भावनालाई उत्तर कोरियाले नकारेको समाचारमा जनाइएको छ । 

उत्तर कोरियाको विदेश मन्त्रालयलाई उद्धृतगर्दै यहाँको एक दैनिक पत्रिकाले भनेको छ– उत्तर कोरियाले अमेरिकासँग भेटवार्ता गर्ने कुनै पनि सम्भावना छैन, त्यो तयारी पनि हामीले गरेका छैनौँ । रासस/सिन्ह्वा

Logo