भारतमा फेरि पत्रकार मारिए

भारतमा फेरि पत्रकार मारिए

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली, ६ मङसिर ।

भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गरिएको समाचार छ ।

प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा काम गर्ने पत्रकारको गोली हानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनी प्रहरीको गोली लागेर मारिएको बताइएको छ । त्रिपुरा राज्यको प्रहरी प्रमुख कार्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला सोही कार्यालयका प्रहरीले गोली हानेको बताइएको छ ।

उक्त प्रहरी प्रधान कार्यालय सो राज्यको राजधानी अगरतलाबाट करिब २० किलोमीटर पश्चिममा पर्दछ । समाचारको कामका लागि नै उनी त्यहाँ गएको बताइएको छ ।

उक्त कार्यालयका एकजना वरिष्ठ प्रहरी अधिकारी अभिजित सप्तऋषिले भने– हिजो एकजना पत्रकार प्रहरीको गोली लागेर त्रिपुरा स्टेट राइफलको हेडक्वार्टरमा मारिएका छन् ।

यसरी पत्रकार मारिएपछि उनलाई गोली हान्ने प्रहरी जवानलाई पनि प्रहरी थुनामा लिइएको छ । उक्त कार्यालयको परिसरमा नै सो घटना भएको पनि उनले स्वीकार गरेका छन् ।

सुदिप दत्त भौमिक नाम गरेका ४८ वर्षका ती पत्रकार भारतीय दैनिक पत्रिका सिन्दन दैनिकका वरिष्ठ समाचारदाता थिए । उक्त पत्रिका बङ्गाली भाषाको पत्रिका हो ।

त्रिपुरा प्रहरीले उक्त दुर्घटनाको कारणका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । वरिष्ठ प्रहरी अधिकारी सप्तऋषिले भने– प्रहरी हेड क्वार्टरमै यो हत्या कसरी हुन पुग्यो भनेर अनुसन्धान सुरु गरेको छ ।

गोली हान्ने प्रहरी जवान हाल प्रहरीको नियन्त्रणमै रहेका छन् । ती प्रहरी जवान र पत्रकारका बीचमा के कस्तो अवस्थाको सिर्जना भयो र जसका कारण गोली हानेर हत्या गर्नेसम्मको स्थिति आयो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको बताएको छ ।

सो दैनिक पत्रिकाका सम्पादक सुबल कुमार दायले उक्त प्रहरी मुख्यालयका अधिकारीको औपचारिक अनुमति लिएर नै आफ्नो सम्वाददाता सो कार्यालयमा गएको जानकारी दिएका छन् ।

उनले केही स्थानीय सञ्चारमाध्यममा भनेका छन्– भौमिकले उक्त प्रहरी मुख्यालयका अधिकारीको औपचारिक अनुमति र समय लिएर नै त्यहाँ गएको हो तर के कसरी त्यस्तो दुर्घटनाको अवस्था आइलाग्यो भन्ने बारेमा मलाई आश्चर्या लागेको छ ।

तर सोही बमोजिम उक्त कार्यालयमा भेट्न गएलगत्तै प्रहरीले ती सम्वाददातालाई मुख्यालयमा नै गोली हानेर हत्या गरेका समाचारमा जनाइएको छ ।

उक्त मुख्यालयका प्रमुखको अंगरक्षक (सुरक्षा गार्ड) ले उनीसँगको सामान्य वादविवादपछि गोली हानेको समाचार आफुले पाएको उनले भारतीय दैनिक पत्रिका इन्डियन एक्सप्रेससँगको कुराकानीमा बताएका छन् ।

यो पत्रकार हत्याको घटना दुई महिनाअघि एकजना टेलिभिजन पत्रकारको हत्यापछि भएको छ । दुई महिना मात्र अघि एक आन्दोलनको समाचार सङ्कलनका क्रममा आन्दोलनकारीले टिभी पत्रकारको त्रिपुरामा नै हत्या गरेका थिए ।

त्यसको महिना दिन मात्र अघि पनि एकजना महिला सम्पादकको हत्या भएको थियो । उनको हत्या भने आफ्नै घरको भान्सा कोठामा भएको थियो ।

भारतमा पछिल्लो समयमा पत्रकार हत्याका घटनामा वृद्धि भइरहेको पाइएको छ । एजेन्सी

Logo