काबुल काण्ड : अझै क्षतिपूर्ति पाएनन् मारिनेका परिवारले

काबुल काण्ड : अझै क्षतिपूर्ति पाएनन् मारिनेका परिवारले

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्वाददाता । काठमाडौं, २९ कात्तिक ।

सन् २०१६ को जुन २० को बिहानीमा अफगानिस्तानको काबुलनजिक आत्मघाती बम बिस्फोटमा परेर ज्यान गुमाएका १४ र घाइते बनेका ६ नेपाली कामदारको परिवारले अहिलेसम्म क्षतिपूर्ति नपाएको मुद्दा फेरि चर्किएर गएको छ ।

विशेष गरी अहिले अफगानिस्तान मामिला भारतको दिल्लीस्थित नेपाली दूतावासले हेर्ने भनेर तोकिएपछि जिम्मेवारी एकअर्कालाई देखाउने नेपाली चलनअनुसार कामदारको सेवा–सुविधा र सुरक्षा प्रबन्धको व्यवस्थासमेत अलमलमा परेको छ । यसअघि अफगानिस्तान मामिलालाई पाकिस्तानको इस्लामाबादस्थित नेपाली दूतावासले हेर्दै आएको थियो ।

बम बिस्फोटमा परेर मारिएका कामदारहरु अफगानिस्तानको काबुलस्थित क्यानेडियन दूतावासमा सुरक्षाकर्मीका रूपमा कार्यरत थिए । यी कामदारलाई सेवा–सुविधा र सुरक्षाको प्रबन्ध लिने जिम्मेवारी साबेर इन्टरनेसनलले लिएको थियो ।

क्यानेडियन दूतावासमा नेपाली सुरक्षा कामदार खटाउने साबेर इन्टरनेसनलले आफ्नो कमजोरी स्विकार्दै मृतक कामदार परिवारलाई आवश्यक क्षतिपूर्ति तथा नियमानुसारको सेवासुविधा उपलब्ध गराइने भनेर नेपाली पक्षसँग समझदारी बनाएको थियो । बसोबासको असुरक्षित क्षेत्र (रेड जोन)मा आवास सुविधा दिएर दूतावासको सुरक्षा काम (ग्रिन जोन)मा कामदार ओसारपसार गर्ने क्रममा बम बिस्फोट भएर १४ नेपाली मारिएका थिए ।

उक्त लापरवाहीपूर्ण घटनापछि, साबेर इन्टरनेसनलअन्तर्गत रहेका झण्डै १ सय नेपाली कामदारको सेवासुरक्षा तथा कामको जिम्मेवारी समन्वय क्यानेडियन दूतावास स्वयमले गर्ने भएको थियो । असुरक्षित आवासीय क्षेत्र (रेडजोन) बाट दूतावास परिसरकै ‘ग्रिनजोन’मा कामदार राख्ने प्रबन्ध मिलाउन दूतावासले तयारी थाल्ने भएको थियो ।

साबेरमा काम गर्ने कामदारले मासिक ९ सय ५० डलर तलब पाउँदै आएकोमा यसमा जनही १ सय डलरका दरमा थप गर्ने सहमतिसमेत भएको थियो । साबेरमा १ सय ४७ नेपाली सुरक्षाकर्मी रहेकोमा १४ जना बिस्फोटमा परेर ज्यान गुमाएका थिए । बिस्फोट घटनालगत्तै २४ जना कामदार असुरक्षाको कारण देखाउँदै नेपाल फिरिसकेका छन् ।

यसैगरी, नेपाली कुटनीतिक अधिकारीसहितको अनुगमनमा काबुलस्थित बेलायती दूतावासमा सुरक्षा कामदार खटाउँदै आएको जीफोरएस समूहमा पनि रेड जोनबाट ग्रिन जोनसम्म सामान्य गाडीमा चढाएर एउटै रुट र समयमा कामदार ल्याउने गरेको पाइएको छ । यो समूहअन्तर्गत ३ सय ५० नेपाली कामदार कार्यरत रहेकोमा व्यक्तिगत असुरक्षाको त्रासले ४० कामदार घर फिरिसकेका छन् ।

काबुलस्थित अस्ट्रेलियन दूतावासमा सेवासुरक्षा पुर्याउने ३२ जना नेपाली कामदारका हकमा पनि भरपर्दो सुरक्षा–व्यवस्था र संयन्त्र नरहेको पाइएको छ । उक्त दूतावासमा हार्ट कम्पनीले नेपाली कामदारलाई सेवाप्रदायक बनाएको छ । ३२ नेपाली कामदारमध्ये केही कुकुरलाई तालिम दिने विज्ञ प्रशिक्षक समेत रहेका छन् । यी कामदारलाई पनि सुरक्षा उपकरणबिनै रेड–जोनको आवासीय क्षेत्र हुँदै मध्यरातमा कूटनीतिक कार्यालयसम्म ओसारपसार गर्ने गरेको पाइएको छ ।

‘दिल्ली दूतावासमा राजदूत पनि नरहेको र अफगानिस्तान मामिला हेर्ने जिम्मेवारी कसैले लिन नचाहेकाले हाम्रो कठिनाइलाई कसैले पनि सुनिरहेको छैन,’ काबुलस्थित ग्रिन भिलेज कम्पनीमा काम गर्ने एक नेपाली सुरक्षा प्रबन्धक भन्छन् ।

काबुलमा रहेको राष्ट्रसंघीय नियोग मातहतमा ६ सय ५४ नेपाली सुरक्षा कामदार रहेका छन् भने अमेरिकी दूतावासमा मात्रै १ हजार नेपाली सुरक्षा कामदार छन् । तर, ती दुबै निकायमा कामदारको कार्यालय परिसर ग्रिन जोनमै आवासीय सुविधा छ ।

 

Logo