भारतका वरिष्ठ पत्रकार विनोद वर्मा गिरफ्तार

भारतका वरिष्ठ पत्रकार विनोद वर्मा गिरफ्तार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १० कात्तिक ।

भारतका वरिष्ठ पत्रकार विनोद वर्मा शुक्रबार बिहानै उत्तर प्रदेशको जिल्ला गाजियाबादस्थित इन्द्रपुरमबाट पक्राउ परेका छन् । प्रहरीले जनाएअनुसार, उनीविरुद्ध ब्ल्याकमेलिङ, फिरौती वसुली र ज्यान मार्ने धम्की दिएको आरोप छ ।

विनोद वर्माले देशबन्धु र बिबिसी संस्थाहरूमा लामो समय काम गरिसकेका छन् भने केही समय पहिलेसम्म उनी अमर उजाला पत्रिकाको डिजिटल शाखाका प्रमुख थिए । उनी हाल कांग्रेसको मिडिया विभागमा कार्यरत थिए ।

एबिपी न्युजको रिपोर्टअनुसार, छत्तीसगढ का्रग्रेसले विनोद वर्माको गिरफ्तारीको विरोध गरेको छ । कांग्रेस प्रदेश अध्यक्ष भूपेश सिंह बघेलले भनेअनुसार, विनोद वर्मासित एउटा सिडी थियो जसमा कथित तवरले छत्तीसगढ राज्यका एकजना रसिक मन्त्री देखिएका छन् । त्यस सिडीमा ती मन्त्री एकजना युवतीका साथ आपत्तिजनक अवस्थामा देखिएका छन् ।

प्रदेश अध्यक्ष बघेलले भने, ‘त्यो सिडी सबैसित थियो । यस्तोमा विनोद वर्माको गिरफ्तारी निन्दनीयय । छत्तीसगढ सरकारले यस सिडीको प्रामाणिकताको जाँच गराउन पर्दछ ।’

उता उत्तर प्रदेश प्रहरीले वर्माको गिरफ्तारी केवल छत्तीसगढ प्रहरीले मात्र कारवाही चलाएको बताएको छ भने पूर्व पत्रकार एवम् हाल आप पार्टीका वरिष्ठ नेता आशुतोषले यो गिरफ्तारतीलाई प्रेसमाथिको हमलाको संज्ञा दिएका छन् । त्यसैगरी अर्का वरिष्ठ पत्रकार उर्मिलेशले ट्वीट गर्दै भनेका छन्– वरिष्ठ पत्रकार विनोद वर्मालाई शुक्रबार बिहानै ३ बजे पक्राउ गरियो । संकटकालका दिनहरू त यहाँ पो छन् त ।

शुक्रबार दिउँसो छत्तीसगढ प्रहरीले पत्रकार सम्मेलन आयोजना गर्दै विनोद वर्माको घरबाट ५०० सिडी प्राप्त भएको जानकारी दियो । प्रहरीले ती सिडीमा अश्लील सामग्री हुन सक्ने आशंका जनाए पनि वास्तविकतामा त्यसमा के छ भन्ने यक्किन जानकारी नभएको बतायो । ती सिडी फरेन्सिक जाँचका लागि पठाइने भएको छ ।

समाचारअनुसार, विनोद वर्मालाई एकजना प्रकाश बजाज नाम गरेका व्यक्तिको निवेदनको आधारमा पक्राउ गरिएको हो । ती व्यक्तिले पछिल्लो केही समयदेखि आफूलाई फोनबाट निरन्तर धम्की आइरहेको र फोनकर्ताले ‘आफ्ना सर्तहरू नमानेको खण्डमा उसका ‘मालिक’ सिडी सार्वजनिक गरिदिने’ भनने गरेको प्रहरीसमक्ष बयान दिएका थिए । फोनकर्ताले ती व्यक्तिलाई एउटा ठेगाना पनि दिएको थियो जहाँ प्रहरीले खोजतलास गर्दा सिडीको कपी तयार पार्ने ठाउँ थियो र ती सिडी स्वयम् विनोद वर्माले तयार गर्न लगाएका थिए ।

प्रहरीले त्यसरी ‘मालिक’ भनिएको व्यक्ति को हो भनने खुलासा गरेको छैन । बिहीबार दिउँसो उक्त निवेदन दर्ता भएपछि प्रहरीले थप कारवाही चालेको थियो । छत्तीसगढ प्रहरी गाजियाबाद र दिल्ली प्रहरीको सहयोगमा विनोद वर्माको घरमा छापा मारेको थियो ।

प्रहरीले जनाएअनुसार, उक्त व्यक्तिलाई फोनबाट धम्की दिने काम विनोद वर्माले चाहिँ गरेका होइनन् । सिडी कसले बनाएको हो भन्ने पनि थाहा भइसकेको छैन । हाल विनोद वर्मालाई सोधपुछका लागि छत्तीसगढ लगिने भएको छ । (एजेन्सीको सहयोगमा)

Logo