यस वर्षको नोबेल साहित्य पुरस्कार काजुओ इसिगुरोलाई

यस वर्षको नोबेल साहित्य पुरस्कार काजुओ इसिगुरोलाई

केन्द्रबिन्दु
0
Shares

स्टकहोम (स्वीडेन), २० असोज ।

जापानी मुलका बेलायती साहित्यकार काजुओ इसिगुरोलाई सन् २०१७ को साहित्यतर्फको नोबेल पुरस्कार दिइने भएको नोबेल पुरस्कार छनौट गर्ने स्वीडिस एकेडेमीले बिहीबार जनाएको छ ।

पुरस्कार घोषणा गर्ने स्वीडीस एकेडेमीले ती उपन्यासकारको प्रशंसा गर्दै उनले ‘आफ्ना बेजोड भावनात्मक शक्ति भएका उपन्यासमा संसारसँगको सम्बन्धबारे हाम्रो भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको’ उल्लेख गरेको छ ।

सन् १९८२ मा ‘अ पेल भ्यू अफ हिल्स’ नामक पुस्तकबाट पूर्णकालीन लेखन शुरु गरेका साहित्यकार इसिगुरोका कृतिमा स्मृति, समय र स्वैरकल्पना सम्बन्धित बिषयवस्तु रहने गरेको पाइन्छ ।

पुरस्कार छनौट समितिले इसिगुरोका लेखनमा शान्त अभिव्यक्ति तथा सांगितिक प्रभाव रहेको पाइन्छ, भनेको छ ।

सन् १९५४ को नोभेम्बर ८ मा जापानको नागासाकी शहरमा जन्मेका इसिगुरो पाँच वर्षको उमेरमा परिवारसहित बेलायत गएका थिए । त्यहाँबाट उनले अंग्रेजी तथा दर्शनशास्त्रमा केन्ट विश्वविद्यालयबाट स्नातक गरेका हुन् ।

उनका सबैभन्दा चर्चित उपन्यासहरु ‘द रिमेन्स अफ द डे’ र ‘नेभर लेट मी गो’ मा आधारित रहेर चलचित्र बनाइएका छन् ।

६२ वर्षीय लेखकले आफू नोबेल पुरस्कार विजेता घोषित हुँदा अत्यन्तै खुशी भएकोे बताए । उनले जम्मा आठवटा पुस्तक लेखेका छन् ।

इस्ट एङलिया विश्वविद्यालयमा सृजनात्मक लेखनको अध्ययन गरेका उनले एघार लाख अमेरिकी डलर बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

Logo