मुम्बई बमकाण्डको नालीबेली : यसकारण भएन अबु सलेमलाई फाँसी

मुम्बई बमकाण्डको नालीबेली : यसकारण भएन अबु सलेमलाई फाँसी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २२ भदौ ।

भारतीय राज्य महाराष्ट्रको राजधानी मुम्बईमा सन् १९९३ मा भएको बम विस्फोटका सम्बन्धमा विशेष टाडा अदालतले दुई अभियुक्तलाई फाँसी र अबु सलेमसहित अर्को एक अभियुक्तलाई बिहीबार आजीवन कारावासको सजाय सुनाएको छ । अन्य एकजना अभियुक्त रियाज सिद्धिकीलाई १० वर्षको सश्रम जेल सजाय सुनाएको छ ।

विशेष अदालतका न्यायाधीश जिए सेनपले बम विस्फोटमा संलग्नताका दोषी मोहम्मद ताहेर मर्चेन्ट र फिरोज खानलाई फाँसीको सजाय सुनाए भने अबु सलेम र करीमउल्लाह खानलाई आजीवन कारावासको दण्ड सुनाए ।

यसका साथै हत्या, हतियार एवम् गोलाबारुदको आपूर्ति र विस्फोटको षडयन्त्र रचेको जस्ता गम्भीर अपराधका लागि अभियुक्तहरूमाथि आर्थिक जरिमाना पनि भएको छ ।

मुम्बई बम विस्फोटका लागि छजनालाई विशेष अदालतले गत जून १६ मा दोषी ठहर गरेको थियो । तीमध्येको एकजना मुस्तफा दोसाको जून २८ मा मृत्यु भइसकेको थियो ।

भारतमा अत्यधिक एवम् बहुप्रतीक्षित यो फैसला १२ मार्च १९९३ मा मुम्बईमा भएको शृंखलाबद्ध बम विस्फोट गराइएको आतंकवादी घटनाको २४ वर्ष र विशेष अदालतले त्यस मामिलामा संलग्न व्यक्तिहरूलाई दोषी करार दिएको करिब ८० दिनपछि जारी भएको हो ।

भारतको आर्थिक राजधानी मानिने मुम्बई १२ मार्च १९९३ मा आतंकित हुन पुगेको थियो जतिबेला त्यहाँका विभिन्न स्थानमा शृंखलाबद्ध किसिमले १२ वटा बम विस्फोट भएका थिए । त्यस विस्फोटमा २५७ जना मारिएका थिए भने अन्य ७०० जना घाइते भएका थिए । विस्फोटबाट निजी र सरकारीतर्फको क्षति २७ करोड रुपैयाँ आंकलन गरिएको थियो ।

अपराधीहरूले एयर इन्डिया भवन, बम्बे स्टक एक्सचेन्ज, जावेरी बाजार, होटल सी रक र होटल जुहू सेन्टुरलाई लक्ष्य बनाएका थिए ।

अबु सलेमलाई दुई मामिलामा आजीवन कारावास र अन्य दुई मामिलामा २५–२५ सालको जेल सजा सुनाइएको हो । उनलाई दुई लाख रुपैयाँ आर्थिक जरिवाना पनि भएको छ । इन्डिया टुडेले जनाएअनुसार, फैसला सुनाइएपछि अबु सलेम अदालतमै रुन थालेका थिए ।

भारतमा अपराध गर्दै दुबईमा लुकेर बसेका अबु सलेमविरुद्ध रेड कर्नर नोटिस जारी भएपछि इन्टरपोलले उनलाई सन् २००२ मा पोर्चुगलमा पक्राउ गरेको थियो । पछि सन् २००५ मा पोर्चुगलबाट उनलाई भारत प्रत्यर्पित गरिएको थियो । प्रत्यर्पणकै बेला उनलाई फाँसी नदिइने, उनीमाथि लगाइएका हालका ९ मामिलाबाहेक अन्य मामिलामा केस चलाउन नपाइने, २५ वर्षभन्दा बढी लामो जेलसजाय नदिइने र अन्य कुनै देशलाई पनि सुम्पुवा नगरिने सर्त राखिएको थियो ।

सन् २००५ देखि अहिलेसम्म अबु सलेमले १२ वर्ष जेलसजाय भोगिसकेका छन् । यसको अर्थ उनले थप १३ वर्ष जेल बसेपछि उनी रिहा हुन् सक्छन् भन्ने अड्कल गरिँदै छ । तर उनलाई दुई मामिलामा २५–२५ वर्षको जेल सजाय सुनाइएको हो । यद्यपि भारतमा आजीवन कारावासको अर्थ हो जीवनभरि जेलमै बिताउनु ।

बिहीबार सुनाइएको फैसला मुम्बई बमकाण्डमा भएको पहिलो भने होइन । सन् २००६ मा यससम्बन्धी पहिलो फैसला जारी भएको थियो । त्यो बेला टाडा अदालतले १२३ जना आरोपीमध्ये १०० जनालाई सजा सुनाएको थियो र २३ जनालाई रिहा गरिदिएको थियो । त्यही बेला सजा सुनाइएका याकुब मेननलाई ३० जुलाई २०१५ मा महाराष्ट्रकै यरवडा जेलमा फाँसी दिइएको थियो ।

अबु सलेमले एक ४७ राइफल दिएको आरोपमा यस हमलामा संलग्न रहेको दोषी ठहर भएर बलिउड अभिनेता सञ्जय दत्तले जेलसजाय भोगिसकेका छन् ।

मुम्बई बमकाण्ड १९९३ का दोषीहरूमध्ये अन्डरवर्ल्ड डन दाऊद इब्राहिम र टाइगर मेननसमेत २७ जना अभियुक्त अझैसम्म फरार छन् भने अभियुक्तहरू दोसा, टाइगर मेनन र छोटा शकिलले पाकिस्तानमा शिविर खडा गरी सबै आरोपित एवम् अभियुक्तहरूलाई प्रशिक्षण दिलाएका थिए ।

यसरी भएका थिए शृंखलाबद्ध विस्फोट
पहिलो – दिउँसो १.३० बजे, मुम्बई स्टक एक्सचेन्ज
दोस्रो – दिउँसो २.१५ बजे, नरसी नाथ स्ट्रिट
तेस्रो – दिउँसो २.३० बजे, शिव सेना भवन
चौथो – दिउँसो २.३३ बजे, एयर इन्डिया भवन
पाँचौं – दिउँसो २.४५ बजे, सेन्चुरी बाजार
छैटौं – दिउँसो २.४५ बजे, माहिम
सातौं – दिउँसो ३.०५ बजे, जावेरी बाजार
आठौं – दिउँसो ३.१० बजे, सी रक होटल
नवौं – दिउँसो ३.१३ बजे, प्लाजा सिनेमा हल
दसौं – दिउँसो ३.२० बजे, जुहू सेन्टुर होटल
एघारौं – दिउँसो ३.३० बजे, सहार एयरपोर्ट
बाह्रौं – दिउँसो ३.४० बजे, एयरपोर्ट सेन्टुर होटल

(एजेन्सीको सहयोगमा)

 

Logo