डोकलामबाट दुवै देशका सेना फिर्ता गर्ने समझदारी

डोकलामबाट दुवै देशका सेना फिर्ता गर्ने समझदारी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क ।

नयाँ दिल्ली (भारत), १३ भदौ ।

भारत, चीन र भुटानबीच रहेकोे हिमालय क्षेत्रको डोकलामबाट आफ्ना फौजहरु फिर्ता गर्न चीनसँग समझदारी गरेको भारत सरकारले जनाएको छ ।

महिनौँ लामो विवादपछि दुई देशबीचको कूटनीतिक पहलमा विवाद समाधान गरिएको भारतीय पक्षले जनाएको छ । भारतीय विदेश मन्त्रालयले हप्तौंदेखि जारी वार्ताका आधारमा यस्तो समझदारी बनेको सोमबार भारतीय विदेश मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

सोमबार दुवै देशले आआफ्ना सेना फिर्ता लैजाने समझदारी बनेको हो । सैनिक फिर्ता भए पनि चीनले त्यस क्षेत्रमा नियमित गश्ती गरिरहने जनाएको छ ।

भारतले गएको जुन महिनामा भुटानले आफ्नो दाबी गर्ने उक्त क्षेत्रमा सडक निर्माण गर्नबाट चीनलाई रोक्न आफ्ना फौज खटाउने निर्णय गरेको थियो । तर चीनले डोकलाम चिनियाँ भूमि भएको भन्दै भारतीय फौजले सीमा अतिक्रमण गरेको टिप्पणी गरेको थियो ।

विज्ञप्तिमा भनिएको छ, “हालैको हप्तामा डोकलाम विवादलाई लिएर भारत र चीनबीच कूटनीतिक स्तरमा छलफल जारी रहेको र कुराकानीका क्रममा हामीले एक आपसी हितका बारेमा छलफल गरेका छौँ । यसै समझदारीका आधारमा डोकलाममा जारी विवादलाई लिएर सीमामा रहेका सेना द्रूत रूपमा हटाउने निर्णय गरेका छौ र यस दिशामा काम अघि बढेको छ ।”

चीनले भने भारतीय सेना डोकलाम सिमानाबाट फिर्ता भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले भारतीय फौज डोकलाम सीमाक्षेत्रबाट फर्किएको बताएको हो ।

सीमा विवादलाई लिएर गत जून १६ देखि भारत र चीनबीचको सम्वन्धमा तनावको वातावरण देखिएको थियो भने सीमा क्षेत्रमा दुवै देशका सेनालाई तयारी अवस्थामा राखिएको जनाइएको थियो ।

खासगरी चीनलाई डोकलाम विवाद समााधार गर्न चारैतिरबाट दबाब परिरहेको थियो । सार्क सदस्य देशयहरूबाट, आसियान संगठनबाट र शांघाइ सहयोग संगठनबाट मात्र नभई रुस र अमेरिकाबाट पनि उत्तिकै दबाब परेको थियो ।

यसबाहेक, आगामी महिना सेप्टेम्बरमा ब्रिक्स देशहरूको शिखर सम्मेलन पनि चीनमै आयोजना हुँदैछ जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सामेल हुँदै छन् । यसले पनि चीन डोकलाम सिमानामा सडक निर्माण गर्ने र त्यहाँ सैनिक तैनाथ गर्ने आफ्ना करिब तीन महिना लामो हठ त्याग गर्न तयार भएको पनि जनाइएको छ । (एजेन्सी)

Logo