दक्षिण एसियाको बाढीमा करिब ६ सय जनाको मृत्यु

दक्षिण एसियाको बाढीमा करिब ६ सय जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली (भारत), ३ भदौ । दक्षिण एसियाका विभिन्न मुलुकमा गरी अगस्त महिनामा ब्यापक बर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या करिब ६ सय पुगेको सम्बन्धित मुलुकका अधिकारीले जनाएका छन् । बाढी र पहिरोमा परी विस्थापित हुनेको संख्या लाखौं रहेको छ ।

बर्षापछि विपद्मा फसेका व्यक्तिको उद्दार तथा उनीहरूलाई सुरक्षित स्थानमा बसोबास गराउने काम अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा भैरहेको छ ।

मनसुनी बर्षाले दक्षिण एसियाको उत्तरी तथा पूर्वी भूभागमा व्यापक क्षति पुर्‍याएको बताइएको छ । अधिकारीले बाढी प्रभावित भारतीय उत्तर प्रदेशका दुई जिल्लामा सयौं गाउँहरूमा डुवान भएपछि उद्दारका लागि सेनाको सहयोग मागेका छन् । उक्त राज्यका ७५ जिल्लामध्ये ३३ जिल्लामा बाढीका कारण ५५ जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेशमा १ लाख नागरिक पूर्ण तथा आंशिक रूपमा विस्थापित भएका छन् भने करिब २० लाख व्यक्ति प्रभावित भएका छन् ।

भारतको बढी प्रभावित मानिएको बिहार राज्यमा १ सय ५३ जनाको मृत्यु भएको छ । यो विपद् बिहारमा सन् २००८ पछि भएको सवैभन्दा ठुलो प्राकृतिक विपद भएको भारतीय अधिकारीले बताएका छन् ।

बिहारमा झण्डै चार लाख मानिस शिविरमा बस्न बाध्य भएका छन् भने १० लाखभन्दा बढी प्रभावित बनेका छन् ।

बिहार र उत्तर प्रदेश नेपालको सीमा क्षेत्रमा रहेका भारतीय भूमी हुन् । भारतको १ अर्ब ३४ करोडको करिब २० प्रतिशत जनसंख्या प्रभावित वनेको छ । संयुक्त राष्ट्रसंघले गत १५ बर्ष यता भारतमा सवैभन्दा बढी डुवानको समस्या भएको बताएको छ ।

भारतको पूर्वीक्षेत्रमा रहेको आसाममा पनि बाढीका कारण ६० जनाको मृत्यु भएको छ भने करिब ४ लाख २५ हजार मानिस राहत केन्द्रमा बस्न बाध्य भएका छन् । बाढीका कारण रेलसेवा विगत छ दिनदेखि अवरुद्ध भएको छ ।

पश्चिम बंगालमा पनि ५२ जनाको बाढी तथा डुवानका कारण मृत्यु भएको छ भने १० लाख मानिस प्रभावित बनेका छन् ।

भारतको गुजरात क्षेत्रमा आएको बाढीका कारण मनसुनको शुरुमा नै ३ सय ५० जनाको मृत्यु भएको थियो ।

त्यसैगरी बंगलादेशमा १ सय व्यक्तिको मृत्यु भएको छ भने ३ लाखभन्दा बढी ब्यक्ति विस्थापित बनेको छ । बाढीका कारण नेपालमा पनि ठूलो माववीय क्षति भएको छ भने लाखौं मानिस प्रभावित भएका छन् ।

नेपाल, भारत, बङ्गलादेश र भारतमा बाढी तथा डुवानका कारण गम्भीर किसिमको खाद्यान्न अभाव देखिने गरेको छ ।

अन्तरराष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटी, एसिया प्रशान्त क्षेत्रका उप क्षेत्रीय निर्देशक मार्टिन फलरले नेपाल, भारत, बंगलादेश र भारतमा बाढी तथा डुवानका कारण खाद्यान्न अभाव देखिने र यसका कारण ठूलो जनसंख्यामा गम्भीर संकट निम्तिने गरेको बताए ।

असुरक्षित बस्तीका कारण दक्षिण एसियामा पहिरोमा परी सयौं मानिसले ज्यान गुमाउने गर्छन् बाढी तथा डुवानका कारण बर्सेनी लाखौं मानिस प्रभावित हुने गर्छन् ।
रासस/ एएफपी

Logo