‘ब्लु ह्वेल’ भिडियो गेम प्रतिबन्ध लगाउनुपर्ने माग

‘ब्लु ह्वेल’ भिडियो गेम प्रतिबन्ध लगाउनुपर्ने माग

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । नयाँ दिल्ली, ३१ साउन ।

बालबालिकालाई प्रलोभनमा पारेर आत्महत्या गर्न प्रेरित गर्ने ‘ब्लु ह्वेल भिडियो गेम’लाई भारतमा प्रतिबन्ध लगाउने माग बढ्न थालेको छ ।

आधिकारिक तथ्यांक अनुसार अहिलेसम्म विभिन्न मुलुकमा यो खेल खेलेर १ सय ३० जनाले आत्महत्या गरिसकेका छन् । तापनि मृतकको यकिन संख्या भने अझैं आएको छैन ।

पछिल्लो पटक भारतमा भित्रिएको यो खेलमा कति बालबालिका सक्रिय छन् भन्ने जानकारी प्राप्त हुन सकेको छैन । तर यो खेल खेलेर मुम्बईमा एक बालकले आत्महत्या गरेको बताइएको छ । यसैगरी इन्दौर र पुने जस्ता सहरमा पनि यो खेलप्रति बालबालिकाको आकर्षण बढी रहेको जनाइएको छ ।

यसैबीच ब्लु ह्वेल गेमलाई प्रतिबन्ध लगाउनु पर्छ भनेर केरल सरकारले केन्द्र सरकारलाई अनुरोध गरेको छ । यसैगरी मध्यप्रदेशका गृहमन्त्रीले पनि केन्द्र सरकारलाई यो खेललाई प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् ।

जानकारहरुका अनुसार, ब्लु ह्वेल कुनै मोबाइलको एप पनि होइन र यो कुनै गेम पनि होइन । बालबालिकाले यसलाई गेम भनेर खेल्ने गर्छन् । तर यसको प्रोग्रामिङ र एडमिनले बालबालिकालाई विभिन्न प्रलोभन, डर र धम्की दिएर आत्महत्या गर्न उक्साइरहेका हुन्छन् । समष्टिमा भन्दा यो बालबालिकालाई आत्महत्या गर्न लगाउने ट्रयाप (जाल) हो ।

रसियाको मस्कोमा बस्ने फिलिप बुडेइकिन नामक व्यक्तिले निर्माण गरेको यो ट्रयापमा परेर अहिलेसम्म १ सय ३० जनाले आत्महत्या गरिसकेको जनाइएको छ । उनले आफ्नो ट्रयापमा पार्न सन् २०१३ मा युरोपको लोकप्रिय सामाजिक संजाल विकेमा ‘एफ ५७’ ग्रुप बनाएर जाल बिच्छाएका थिए ।

उनको अनुमान अनुसार, कम से कम २०–३० बालबालिकालाई मात्र नियमित बनाउन सकेमा आफूले सफलता पाउने ठाने । उनको ब्लु ह्वेल ट्रयापमा केही बालबालिका परे । सन् २०१५ सम्ममा रसियामा १५ जना बालबालिकाले यही खेलमार्फत् आत्महत्या गरे ।

आत्महत्या गर्न उक्साउने एक बालिकामार्फत उनले गरेको क्रियाकलापको प्रमाण संकलन गरेर उनलाई पक्राउ गरियो । अहिले उनी ३ वर्षको जेल सजाय काटिरहेका छन् । तर पनि उनले निकालेको यो खेलको पछि अन्य देशका बालबालिकाहरू पनि लाग्न थालेका कारण यसको संजाल ठुलै भएको अनुमान गरिएको छ । (एजेन्सीको सहयोगमा)

Logo