बिम्स्टेक महासचिव राजधानीमा

बिम्स्टेक महासचिव राजधानीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २५ साउन ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महाचिव सुमिथ नाकनदला आज अपराह्न यहाँ आइपुग्नुभयो । 

दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको मन्त्रीस्तरीय बैठक र उक्त संगठनका सदस्य मुलुकका विदेश/परराष्ट्र/बाह्य मामिला मन्त्रालयका उच्च अधिकारी (एसओएम)को बैठकमा भाग लिन उहाँ यहाँ आउनुभएको हो । 

यही साउन २६ गते राजधानीमा एसओएमको १८औँ बैठक र २७ गते १५औँ मन्त्रीस्तरीय बैठक हुँदैछ । बिम्स्टेक सचिवालय बंगलादेशको राजधानी ढाकामा अवस्थित छ । 

बीस वर्षअघि स्थापना भएको बिम्स्टेकमा नेपाल, भारत, भुटान, बंगालादेश, श्रीलंका, म्यान्मा र थाइल्याण्ड सदस्य छन् । नेपाल उक्त संगठनको अध्यक्ष हो । सन् २०१४ मा नेपालले त्यसको अध्यक्षता ग्रहण गरेको हो ।  

दुवै बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका प्रमुख मणिप्रसाद भट्टराईले राससलाई जानकारी दिनुभयो । 

साथै, बैठकले बिम्स्टेक मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको चौथो शिखर सम्मेलनको मिति टुंगो लगाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो । यसअघि म्यान्माको राजधानी नेपिटोमा तेस्रो शिखर सम्मेलन भएको थियो । 

प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग बिम्स्टेक महासचिवले सामूहिक शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँ शनिबार ढाका फर्कनु हुनेछ । रासस 

Logo