१२ कक्षा पढेका छात्र गुगलमा जागिरे, तलब मासिक १२ लाख

१२ कक्षा पढेका छात्र गुगलमा जागिरे, तलब मासिक १२ लाख

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १५ साउन ।

भारतीय राज्य पञ्जाबको चण्डीगढमा एक सामुदायिक विद्यालयमा अध्ययन गरेका एकजना छात्रले गुगलमा जागिर पाएका छन् । उनको मासिक तलब भारु १२ लाख हुनेछ । हालै मात्र सामुदायिक विद्यालय मोडल सिनियर सेकन्डरी स्कुलबाट हालै मात्र आइटी स्ट्रिम पढ्दै १२ कक्षा सकेका हर्षित शर्मा कक्षामा सधैँ औसतस्तरका छात्र थिए ।

हर्षित अहिले आफूलाई प्राप्त सफलताबाट निकै खुसी छन् तर उनलाई आफूजस्तो औसत विद्यार्थीलाई गुगलमा जागिर पाइएको कुरामा भने अझै पूरा विश्वास लागिरहेको छैन । उनले भने, ‘म भन्नै सक्दिन मलाई कस्तो महसुस भइरहेको छ । मलाई मेरो सपना पूरा भएको जस्तो लागिरहेको छ । मेरो मिहिनेत सफल भएको छ ।’

हालका लागि हर्षितलाई प्रशिक्षणमा राखिने छ र यसवापत उनलाई तलब प्रति माह ४ लाख भारु उपलब्ध गराइने छ । गुगलले उनलाई ग्राफिक डिजाइनरका रूपमा नियुक्त गरेको हो ।

हर्षितले आफू १० वर्षको छँदैदेखि उनको रुचि ग्राफिक डिजाइन सिक्नेतिर गएको बताएका छन् । त्यसपछि उनले पछि गएर आफूले गुगलमा जागिर खाने सपना पालेको र त्यसका लागि परिश्रम पनि गर्न थालेको बताए ।

उनले गोप्य रूपमा आफ्ना एकजना काका रोहित शर्मासित ग्राफिक डिजाइनको प्रशिक्षण लिन थाले । अब उनी गुगलमा प्रशिक्षण लिनका लागि आउँदो अगस्त ७ मा अमेरिकी राज्य क्यालिफोर्निया जाँदैछन् ।

उनले भने, ‘अंकल रोहित शर्मासित ग्राफिक डिजाइन सिक्न थालेपछि क्रमशः यो मेरो धुन बन्यो र म गुगलमा जागिर खाने सपना हेर्न थालेँ । आज मलाई जे प्राप्त भइरहेको छ त्यो सबै केवल मेरा अंकलले गर्दा नै हो किनभने ग्राफिक डिजाइन सिक्नका लागि म कहिल्यै कुनै इन्स्टिच्युट भर्ना भइनँ । मैले जे जति सिकेँ सबै आफ्ना अंकलबाटै सिकेको हुँ ।’

हर्षितलाई गुगलमा जागिर पाइएको कुराले उनको स्कुलका प्रिन्सीपल इन्द्र बेनीवाल पनि निकै खुसी छन् । भन्छन्, ‘मलाई हर्षितमाथि गर्व छ ।’
(एजेन्सीको सहयोगमा)

 

Logo