भारतका नयाँ राष्ट्रपतिको तलब र सुविधा कति

भारतका नयाँ राष्ट्रपतिको तलब र सुविधा कति

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली, ९ साउन ।

रामनाथ कोभिन्द भारतका १४औं राष्ट्रपति बन्दै छन् । उनले यही ९ साउनमा कार्यकाल समाप्त हुने वर्तमान राष्ट्रपति प्रणब मुखर्जीको ठाउँ लिनेछन् । कोभिन्दले २५ जुलाई (१० साउन) मा राष्ट्रपति पदको सपथ ग्रहण गर्ने छन् र त्यसपछि
७५० भन्दा धेरै स्टाफले काम गर्ने राष्ट्रपति भवन जानेछन् ।

वर्तमानमा राष्ट्रपतिको मासिक तलब डेढ लाख भारतीय रुपैयाँ छ । यद्यपि भारतको ७औं तलब आयोगले राष्ट्रका सर्वोच्च व्यक्तिको तलबमा २०० प्रतिशत वृद्धिको प्रस्तावलाई स्वीकृति दिएको छ । यसले गर्दा अब नयाँ राष्ट्रपतिको मासिक तलब ५ लाख रुपैयाँ हुनेछ ।

यसअघि राष्ट्रपतिको तलब सन् २००८ मा वद्धि गरिएको थियो र तत्कालीन ५० हजार प्रतिमहिनाबाट बढाएर १.५ लाख रुपैयाँ गरिएको थियो । २०० प्रतिशत वृद्धिको निर्णय त्यतिबेला गरिएको थियो जतिबेला भारत सरकारलाई राष्ट्रपतिभन्दा त क्याबिनेट सेक्रेटरीले पो बढी तलब खाँदा रहेछन् भन्ने महसुस भएको थियो ।

केवल राष्ट्रपतिको मात्र होइन, बरु उपराष्ट्रपति र राज्यपालहरूको तलब पनि बढ्ने भएको छ । हाल उपराष्ट्रपतिको तलब १.१० लाख रुपैयाँ रहेकोमा त्यो अब बढेर मासिक ३.५ लाख रुपैयाँ हुनेछ ।

तलब वृद्धिसम्बन्धी सरकारको यस निर्णयबाट पूर्व राष्ट्रपतिहरूलाई लाभ हुनेछ । २४ जुलाईमा आफ्नो कार्यकाल समाप्त भएपछि राष्ट्रपति प्रणब मुखर्जीको पेन्सन मासिक १.५ लाख रुपैयाँ हुनेछ ।

कोभिन्द भारतका वाइसराय (तत्कालीन सर्वोच्च शासक) का लागि अंग्रेजहरूले निर्माण गरेको भव्य भवनमा बस्ने छन् । यो भवन भारतको स्वतन्त्रतापछि देशका राष्ट्रपतिको आधिकारिक निवासका रूपमा रहेको छ । राष्ट्रपति भवनको नाम दुईवटा गाउँ –रायसीना र मालचा– को नाममा राखिएको छ । यो भवनको डिजाइन बेलायती वास्तुकार सर एडविन लुटियंस र हरबर्ट बेकरले गरेका थिए ।

राष्ट्रपति भवन ३३० एकड भन्दा बढी जग्गामा फैलिएको छ र दुई लाख वर्गफिट क्षेत्रफलमा बनेको छ । यस भवनको निर्माण सन् १९१३ मा सुरु भएको थियो र यसलाई बनाउन २३ हजारभन्दा धेरै मजदुरले काम गरेका थिए । यो भवन निर्माण सम्पन्न हुन १६ वर्ष लागेको थियो र सन् १९२९ मा मात्र यसको निर्माण सम्पन्न भएको थियो ।

चार तले राष्ट्रपति भवनमा ३४० कोठा छन् जसमध्ये ६३ वटा सुत्नेकोठा र ६३ वटा बैठककोठा छन् । यसमा ३५ ग्यालरी र करिडोर छन् जसले थुप्रै कोठाहरूलाई एकआपसमा जोडेका छन् । सबैभन्दा लामो करिडोर २.५ किलोमिटर छ । (एजेन्सी)

 

Logo