भीषण वर्षाका कारण भारतको उत्तराखण्डमा ६ को मृत्यु

भीषण वर्षाका कारण भारतको उत्तराखण्डमा ६ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली, २८ असार । उत्तरी भारतीय राज्य उत्तराखण्डमा आएको भीषणबाढी पहिरोमा परी कम्तीमा  ६ व्यक्तिको मृत्यु भएको छ । 

गत ४८ घण्टाभित्र परेको अबिरल वर्षामा परी ती ६ व्यक्तिले ज्यान गुमाएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । 

मृतकमध्ये तीन शव मुसोरीनजिकै, अर्को एक शव प्रान्तीय राजधानी देहरादुनको रिसपाना नदी छेउमा र अरू दुई जनाको क्रमशः तेहरी र पीथोरागर्ह जिल्लामा भेटिएको सरकारी अधिकारीहरुले जनाएका छन् । 

वर्षाका कारण देहरादुनदेखि दिल्लीसम्म जोड्ने राष्ट्रिय राजमार्गसमेत अवरुद्ध भएको जिल्ला उद्धार तथा व्यवस्थापन केन्द्रका अधिकारी पियुष राउटेलाले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो । अवरुद्ध बाटो खुलाउनका लागि प्रयास भइरहेको उहाँले थप जानकारी दिनुभएको छ । 

“लगातार भइरहेको वर्षाले विभिन्न ठाँउमा बाढीपहिरो गएको छ, त्यही बाढीपहिरोले सडक भत्काएको हो,” अर्का एक अधिकारीले भने । 

राज्य सरकारले बाढीपहिरोका कारण अप्रिय घटना हुनसक्ने आश‌ंङ्काले केदारनाथ जाने तीर्थयात्रीहरुलाई समेत रोक लगाएको छ । 

मौसम विभागले अझै केही समय वर्षा भइरहने पूर्वानुमान गरेको छ । साथै प्रमुख नदीहरुलाई खतराको सूचीमा राखिएको छ । 

पहाडी राज्य उत्तराखण्ड यसअघि सन् २०१३ मा पनि बाढीपहिरोको चपेटामा परेको थियो । त्यतिबेला झण्डै छ सय जनाको मृत्यु भएको थियो भने पाँच हजार सात सय जना बेपत्ता भएका थिए । उनीहरुको पनि मृत्यु भएको अनुमान गरिएको छ । रासससिन्ह्वा 

 

Logo