६० करोड दावीसहित सिक्किमले पं. बंगालविरुद्ध मुद्दा हाल्ने

६० करोड दावीसहित सिक्किमले पं. बंगालविरुद्ध मुद्दा हाल्ने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २२ असार ।

पृथक् गोरखाल्यान्डको मागसहित पछिल्ला तीन दशकदेखि जारी असन्तोष र विद्रोहले गर्दा आफ्नो राज्यको आयस्तामा ठुलो घाटा भएको दावी गर्दै सिक्किमले पश्चिम बंगाल सरकारका विरुद्ध भारतको सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ ।

भारतीय समाचार संस्था एनडिटिभीले ‘स्रोतहरू’ को उल्लेख गर्दै जनाएअनुसार, सिक्किम सरकारले पश्चिम बंगाल राज्यस्तरबाटै प्रतिरोध गरिएको हुनाले पछिल्ला ३२ वर्षमा सिक्किमलाई लगभग ६० करोड रुपैयाँ नोक्सान भइसकेको मूल्यांकन गरेको छ ।

यो समाचार सिक्किमतर्फ जाँदै गरेको मालवाहक गाडीहहरूमा पश्चिम बंगालको सिलिगुडीमा आक्रमण र तोडफोड गरिएको घटनाको सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले कडा शब्दमा आलोचना गरेको एक दिनपछि सार्वजनिक भएको हो ।

‘चीन र बंगालका बीचको तरुल बन्न (स्यान्डविच हुन) का लागि यहाँका जनताले सिक्किमलाई भारतमा विलय गराएका होइनन्,’ मुख्यमन्त्री चाम्लिङले एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए ।

सिक्किम हिँडेका वाहनहरूमाथि तोडफोडपूर्ण आक्रमण मुख्यमन्त्री चाम्लिङले गोरखाल्यान्डको मागलाई समर्थन गर्दै वक्तत्व दिएलगत्तैदेखि सुरु भएको हो । चाम्लिङले केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलाई पत्र लेखी गोरखाल्यान्डको मागलाई पहाडी क्षेत्र दार्जिलिङका जनताको ‘लामो समयदेखि अलपत्र पारिएको न्यायोचित माग’ भनी उल्लेख गरेका थिए ।

मुख्यमन्त्री चाम्लिङले सिक्किमतर्फ आउने मालवाहक वाहनहरूमाथि आक्रमण गरिएर एक किसिमले नाकाबन्दी गरिएको भए पनि यसबाट उत्पन्न हुनसक्ने खाद्यान्न र अन्य आवश्यक बन्दोबस्तीका सामानको अभाव सम्झेर आतंकित नहुन सिक्किमे जनतालाई आग्रह गरेका छन् ।

उनले यससम्बन्धमा तत्कालै केन्द्र सरकारसित वार्ता गर्ने बताएका छन् ।पछिल्ला केही दिनदेखि सिक्किमसित सिमाना जोडिएको चीन र भारतबीच देशीय सिमाना विवाद बढेको छ । दुई देशबीच वाक्युद्ध चले जस्तो भइरहेको छ र चीनले सन् १९६२ मा दुई देशबीच भएको युद्धलाई सम्झेर भारतलाई विवादमा नआउन भनिरहेको छ । छिटै चीनले एकतर्फी रूपमा विराम गरेको उक्त युद्धमा १३०० जना भारतीय सैनिक मारिएका थिए ।

अहिले भारतले सिक्किम बोर्डर क्षेत्रमा ठुलो संख्यामा आफ्ना सैनिक थुपारेको छ । उतातर्फ चिनियाँ सैनिक पनि उल्लेख्य संख्यामा छन् । तीन दिन पहिले दुई देशका सैनिकबीच सामान्य हात हालाहाल र धकेलाधकेल भएको थियो ।

चीनले सीमा क्षेत्रबाट भारतीय सैनिक हटाएपछि मात्र उच्चस्तरीय वार्ता गर्ने भनेको छ । विवाद सिक्किम–चीन सीमा रहेको डोकला क्षेत्रलाई लिएर त्यतिबेला उठेको हो जतिबेला चीनले त्यस क्षेत्रमा सिक्किम (भारत) सरकारको अनुमति बेगर सडक निर्माण गर्न थाल्यो । विवादकै बीचमा चीनले भारतका दुईवटा सैन्य बंकर पनि नष्ट गरिदिएको भारतको आरोप छ । (एजेन्सी)

Logo