अमेरिकी प्रहरीले बर्सेनी हजार मानिस मार्छ !

अमेरिकी प्रहरीले बर्सेनी हजार मानिस मार्छ !

केन्द्रबिन्दु
0
Shares

वासिङ्गटन डिसी, १९ असार । अमेरिकामा चालु वर्ष सन् २०१७ का प्रथम छ महिनामा मात्र अमेरिकी प्रहरीको गोली प्रहार (पुलिस सुटिङ) बाट ४९२ मानिसको मृत्यु भइसकेको छ । यो तथ्यांक लगातार पछिल्ला दुई वर्षको सोही अवधिमा भएका घातक प्रहरी सुटिङमा मरेकाहरूको संख्याकै लगभग समान छ ।

प्रहरीको गोली लागी मर्ने निहत्था मानिसको संख्यामा कमी आएको छ तापनि पुलिस सुटिङमा मारिने व्यक्तिहरूको संख्या लगातार तेस्रो वर्ष पनि लगभग एक हजार पुग्ने देखिएको छ । वासिङ्टन पोस्ट पत्रिकाले संकलन गरेको तथ्यांकअनुसार, सन् २०१७ को पुलिस सुटिङबाट भएका मृत्युहरूको सूची अघिल्लो वर्ष २०१६ को जुन १६ तारिखमा पनि ठिक यस्तै र यत्तिकै थियो ।

हालैका वर्षहरूमा पुलिस सुटिङहरूमा दर्जनौँ अश्वेत नागरिकहरूको मृत्यु हुने गरेको गुनासो बढ्दो रूपमा आउन थालेको छ । भिषण प्रदर्शन र सुधारहरूको ठुलो माग भइरहेको अवस्थालाई दृष्टिगत गरी केही प्रहरी प्रमुखहरूले त्यस्ता हिंसात्मक इन्काउन्टरहरूलाई क्रमशः घटाउँदै लाने प्रतिबद्धता व्यक्त गरेका थिए । तर अहिलेको तथ्यांकमा त्यस्ता प्रतिबद्धताहरूको कुनै छाप देखिँदैन ।

‘यी संख्याहरूले के देखाउँछन् भने उच्चपदस्थ प्रहरी अधिकारी नै सम्मिलित रहेको टोलीबाट हुने पुलिस सुटिङ पछिल्ला धेरै वर्षदेखि निरन्तर यथावत् छ, ’ साउथ क्यारोलाइना युनिभर्सिटीका अपराधशास्त्री तथा प्रहरीबाट हुने शक्तिप्रयोगका अध्येता प्रोफेसर ज्योफ्री अल्पर्टले पत्रिकासित कुराकानी गर्दै भने, ‘केही ठाउँमा यस्ता घटना धेरै माात्रामा भएका छन् त केही ठाउँमा कम मात्रामा, तर औसतन समग्रमा कुनै कमी देखिँदैन । यो २१औँ शताब्दीमा हिँडिरहेको हाम्रो समाज हो ।’

तथ्यांकले के देखाउँछ भने प्रहरीले मुख्यतः बन्दुक वा अन्य किसिमका हथियार भिरेका गोरा नागरिकमाथि सांघातिक सुटआउट गर्दछ, तर ती प्रहरी अधिकृतहरूले काला नागरिकहरूमाथि भने अन्धाधुन्ध गोली प्रहार गर्छन् । यसको परिणाम के हुन्छ भने पुलिस सुटिङमा मारिने मानिसहरूमध्ये लगभग एक चौथाइ त अश्वेत नागरिक नै हुने गरेका छन् जबकि समग्र अमेरिकी जनसंख्यामा अश्वेत जनसंख्या ६ प्रतिशतभन्दा केही बढी मात्र छ ।

यस अतिरिक्त उक्त रिपोर्टका अनुसार, पुलिस सुटिङमा मारिने प्रत्येक चारजनामा एकजना मानिस मानसिक रोगी हुने गरेको छ । (एजेन्सी)

Logo