अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहार तालिबानको नियन्त्रणमा

अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहार तालिबानको नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको सशस्त्र विद्रोही तालिबानले त्यहाँको दोस्रो ठूलो सहर कान्दाहार नियन्त्रणमा लिएको छ। अफगान संसद् सदस्य गुल अहमद कामिनले विद्रोहीहरूले तीव्ररूपमा राजधानी काबुलतर्फ नियन्त्रण बढाइरहेका सिएनएनलाई जनाएका छन्।  

कान्दाहार देशको दक्षिणी भेगमा पर्छ, जुन इलाकामा केही सातादेखि तालिवानले नियन्त्रण जमाइरहेका छन्। तालिबानको दबदबा बढ्न थालेपछि अमेरिकाको ‘ब्याकअप’ पाएको अफगान सरकार अन्त्यको बाटोतिर उन्मुख भइरहेको कतिपय विश्लेषकहरूको भनाइ छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै तालिबानले सरकारी कार्यालय, प्रहरी हेडक्वार्टर र अन्य भागका मुख्य सहरका केन्द्रहरु नियन्त्रणमा लिइसकेको बताएको छ। ‘सयौं हतियार, गाडी र सैन्य सामग्री हामीले बरामद गरेका छौं,’ तालिबान विज्ञप्तिमा भनिएको छ।

सांसद कामिनले उनी तथा अन्य व्यक्तिहरुले अन्तर्राष्ट्रिय एयरपोर्ट छेउमा रहेको मिलिटरी बेसमा हेर्दा त्यहाँका सरकारी सैनिकहरु आत्मसमर्पणको अवस्थामा रहेका छन्। ‘धेरै सरकारी सिपाहीहरुले आत्मसमर्पण गरिसकेका छन् र, बाँकी त्यहाँबाट भागिसकेका छन्,’ कामिनले भने।

कामिनले केही समयअघि सिएनएनलाई तालिबान लडाकुले सहरको मुख्य भागमा नियन्त्रण लिनसक्ने खालको सामथ्र्य विकास गरिसकेको जानकारी दिएका थिए। तालिबान लडाकु र सरकारी सेना केही सातादेखि आमनेसामने रहँदै आएका थिए।

कान्दाहार मुख्यतः देशका तीनवटा मुख्य राजमार्गको ‘जङ्कसन’ भएकाले यसको रणनीतिक महत्व छ। अमेरिकी सैन्य अपरेसनका लागि यो ठाउँ मुख्य केन्द्र रहँदै आएको थियो। यति हुँदा पनि कान्दाहार तालिबानको नियन्त्रणबाट यसअघि पनि बाहिर जान सकेको थिएन। झन् पछिल्लो समयमा त अफगानिस्तानका ३४ प्रान्तीय राजधानीमध्ये १३ वटामा तालिबान लडाकुले पकड जमाइसकेका छन्।

गत मेमा अमेरिकी सेनाले कब्जा गरेको भूमि पनि तालिबान लडाकुले फिर्ता लिइसकेका छन्। अमेरिकी सेनाले यही अगस्टभित्रमा कान्दाहारबाट तालिबानलाई ‘ब्याक’ गराउने रणनीति लिए पनि असफल भएको विश्लेषक बताउँछन्।

Logo