राजधानी काबुल छिट्टै तालिबान नियन्त्रणमा जाने अमेरिकी जासुसी संस्थाको खुलासा

राजधानी काबुल छिट्टै तालिबान नियन्त्रणमा जाने अमेरिकी जासुसी संस्थाको खुलासा

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानका १७ प्रान्तीय राजधानी तालिबान विद्रोहीले नियन्त्रणमा लिएका छन्। अफगानिस्तानका ३४ प्रान्तहरुमध्ये आधा (१७ प्रान्त) तालिबानले नियन्त्रणमा लिइसकेका अफगानिस्तानका सरकारी अधिकारीले जनाएका छन्। 

अफगानिस्तानमा कार्यरत अमेरिकी जासुसी संस्थाका एक वरिष्ठ अधिकारीका अनुसार आगामी ३० देखि ९० दिनभित्रमा राजधानी काबुल तालिबानको नियन्त्रणमा जाने देखिएको छ। 

यसैबीच, शुक्रबार मात्र सरकारले राजधानी काबुलनजिकै रहेको उरोज्गन प्रान्तको मुख्य सहर तारिन कोटमा आफ्नो पकड गुमाइसकेको छ। त्यहाँका सरकारी कार्यालय, प्रहरी मुख्यालय र केन्द्रीय जेल तालिबानको हातमा गइसकेको सरकारी अधिकारीले जनाएका छन्। स्थानीयले बताए अनुसार कुनै प्रतिरोधबिना तालिबानले तारिन कोट सहर नियन्त्रणमा लिएका हुन्। आदिवासी समूहका अगुवाले तालिबानविरुद्ध कुनै प्रतिरोध नगर्ने निर्णय गरेपछि विद्रोहीहरुलाई सहर नियन्त्रणमा लिन सजिलो भएको हो।

उरोज्गनका गभर्नर मोहम्मद ओमार सिजादले तालिबानसँग केही दिनदेखि भिडन्त जारी रहे पनि त्यहाँका अगुवाहरुले सम्भावित अत्यधिक मानवीय क्षति रोक्न युद्धविराम गर्न आग्रह गरेको अफगान न्युज नेटवर्क टोलोलाई बताएका छन्। त्यहीअनुसार सरकारी सेनाले तालिबान लडाकुविरुद्ध प्रत्याक्रमण नगरेकाले तालिबानलाई उक्त सहरमा कब्जा जमाउन सजिलो भएको हो।

यद्यपि, तालिबानले भने तारिन कोट कब्जामा लिइसकेको कुरा औपचारिक घोषणा गरेको छैन भने सरकारले पनि उक्त सहरमा आफ्नो नियन्त्रण गुमिसकेको तथ्य निश्चित गरेको छैन। तर, शुक्रबार सार्वजनिक भएको भिडियोमा तालिबान लडाकुहरुले उक्त सहरमा नियन्त्रणमा लिएको स्पष्ट देख्न सकिन्छ।

स्थानीय स्रोतका अनुसार तालिबान लडाकुले शुक्रबार राति मध्य अफगानिस्तानस्थित गोर प्रान्तको राजधानीसमेत नियन्त्रणमा लिइसकेका छन्। गत मेदेखि अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता जान थालेपछि विभिन्न प्रान्तमा तालिबानको अत्यधिक पकड बढ्न थालेको हो। अमेरिकी सेनालाई अगस्टको अन्त्यसम्ममा अफगानिस्तानबाट पूर्णरुपमा फिर्ता लैजाने कार्यतालिका तय गरिएको छ।

यसअघि, अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहार र तेस्रो ठूलो सहर हेरात तथा पश्चिम अफगानिस्तानका मुख्य सहरी केन्द्र तालिबान लडाकुको कब्जामा गइसकेका छन्। उक्त लडाकु समूहले सरकारी कार्यालय तथा प्रहरी मुख्यालय आफ्नो नियन्त्रणमा लिएका अफगान अधिकारीले जनाएका छन्।

अफगानिस्तानबाट आफ्ना नागरिकलाई स्वदेश फर्कन अमेरिकाले आग्रह गरेको छ। बिहीबार काबुलस्थित अमेरिकी दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकलाई छिटोभन्दा छिटो अफगानिस्तान छाड्न सूचना जारी गरिसकेको छ।

उत्तर–पश्चिम क्षेत्रस्थित बादघिस प्रान्तको राजधानी क्वाला–ई–नव सिटी पनि तालिबान लडाकुको कब्जामा रहेको बादघिस प्रान्तीय काउन्सिल सदस्यले सिएनएनलाई जनाएका छन्।  

‘काबुल जाने सडकमा पर्ने घाज्नी सहर पनि मिलिट्यान्ट समूहले लामो तथा कठोर भिडन्तपछि बिहीबार बिहानै नियन्त्रणमा लिएका छन्,’ गज्नी प्रान्तीय सरकारका प्रमुख नासिर अहमद फाकिरीले भने। गज्नी सहर काबुलबाट १ सय ५० किलोमिटर दक्षिणमा पर्छ, जसले कान्दाहारलाई काबुलसँग जोड्छ।

गज्नीलाई नियन्त्रणमा लिएपछि तालिबानले काबुलबाट उत्तर र दक्षिण स्थानहरुमा प्रभुत्व जमाइसकेको छ। यसअघि तालिबानले काबुलको उत्तरमा पर्ने बाग्घलान प्राप्त कब्जा गरेपछि त्यहाँ रहेका अमेरिकी अधिकारी पनि चिन्तित बनेका हुन्। उक्त स्थानलाई राजधानीको सुरक्षाका लागि महत्वपूर्ण ठाउँ मानिँदै आएको थियो।

यसैबीच, अफगानिस्तानको सशस्त्र विद्रोही तालिबानले कान्दाहारलाई पूर्ण नियन्त्रणमा लिएको छ। अफगान संसद् सदस्य गुल अहमद कामिनले विद्रोहीहरूले तीव्र रूपमा राजधानी काबुलतर्फ नियन्त्रण बढाइरहेका सिएनएनलाई जनाएका छन्।  

कान्दाहार देशको दक्षिणी भेगमा पर्छ, जुन इलाकामा केही सातादेखि तालिवानले नियन्त्रण जमाइरहेका छन्। तालिबानको दबदबा बढ्न थालेपछि अमेरिकाको ‘ब्याकअप’ पाएको अफगान सरकार अन्त्यको बाटोतिर उन्मुख भइरहेको कतिपय विश्लेषकहरूको भनाइ छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै तालिबानले सरकारी कार्यालय, प्रहरी हेडक्वार्टर र अन्य भागका मुख्य सहरका केन्द्रहरु नियन्त्रणमा लिइसकेको बताएको छ। ‘सयौं हतियार, गाडी र सैन्य सामग्री हामीले बरामद गरेका छौं,’ तालिबानको विज्ञप्तिमा भनिएको छ।

सांसद कामिनले उनी तथा अन्य व्यक्तिहरुले अन्तर्राष्ट्रिय एयरपोर्ट छेउमा रहेको मिलिटरी बेसमा हेर्दा त्यहाँका सरकारी सैनिकहरु आत्मसमर्पणको अवस्थामा रहेका छन्। ‘धेरै सरकारी सिपाहीहरुले आत्मसमर्पण गरिसकेका छन् र, बाँकी त्यहाँबाट भागिसकेका छन्,’ कामिनले भने। तालिबान लडाकु र सरकारी सेना केही सातादेखि आमनेसामने रहँदै आएका थिए।

कान्दाहार मुख्यतः देशका तीनवटा मुख्य राजमार्गको ‘जङ्कसन’ भएकाले यसको रणनीतिक महत्व छ। अमेरिकी सैन्य अपरेसनका लागि यो ठाउँ मुख्य केन्द्र रहँदै आएको थियो। यति हुँदा पनि कान्दाहार सरकारी नियन्त्रणबाट बाहिर जान सकेको थिएन।

Logo