डेल्टा भेरियन्टले खतराको घन्टी बज्न थालेपछि चीनले जारी गर्यो मास्कसम्बन्धी नयाँ गाइडलाइन

डेल्टा भेरियन्टले खतराको घन्टी बज्न थालेपछि चीनले जारी गर्यो मास्कसम्बन्धी नयाँ गाइडलाइन

केन्द्रबिन्दु
0
Shares

चिनियाँ स्वास्थ्य अधिकारीले घरबाहिर तथा सार्वजनिक स्थलमा मास्क प्रयोगबारे नयाँ गाइडलाइन जारी गरेका छन्। पछिल्लो समय चीनमा फेरि तीव्र रुपमा फैलिएको कोभिड–१९ संक्रमणले महामारी सुरु भएयताकै खराब अवस्था सिर्जना गरेपछि चिनियाँ अधिकारी चिन्तित बनेका छन्।

चीनका आधाभन्दा बढी प्रान्तमा डेल्टा भेरियन्ट प्रकोप फैलिएपछि सरकारी अधिकारी उच्च शर्तक अवस्थामा रहेका छन्। महामारी नियन्त्रणका लागि लकडाउन, व्यापक परीक्षण र हिँडडुलमा निषेध जारी गर्ने रणनीतिका साथ चिनियाँ अधिकारीले काम गर्दै आएका छन्।

पछिल्लो समय चीनमा महामारी सुरु हुनुभन्दा पहिले केही मात्रामा संक्रमण देखिए पनि जनजीवन सामान्य बनिसकेको थियो। चीनका धेरै सहरमा दैनिक काममा जाने मानिसले मास्क लगाउन छाडिसकेका थिए। पर्यटन क्षेत्रमा मास्क नलगाइकन ठूलो भीडले फोटो खिचेको देखिन्थ्यो। चीनमा भएका सांगीतिक उत्सव अन्तर्राष्ट्रिय सञ्चार माध्यमको हेडलाइन बन्ने गर्थ्यो।

शुक्रबार मात्र चीनको राष्ट्रिय स्वास्थ्य आयोगले परिमार्जित गाइडलाइन जारी गरेको छ, जसअनुसार अबदेखि त्यहाँका नागरिकले भित्री कोठा र सार्वजनिक यातायातमा मात्र होइन, बाहिरी क्षेत्रका भीडभाडमा पनि अनिवार्य रुपमा मास्क लगाउनुपर्छ।

‘संक्रमण बढ्दै गए पनि कोभिड १९ को सुरक्षा सर्तकताबारे जनता कम्ती मात्रामा सचेत रहेको पाइएको छ। कतिपयले भ्याक्सिन लगाइसकेपछि मास्क लगाउनु पर्दैन भन्ने सोच्न थालिसकेका छन्, जसले गर्दा महामारी नियन्त्रण तथा व्यक्तिगत सुरक्षामा प्रतिकूलता सिर्जना भएको छ,’ राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार भनेको छ।

चीनले मास्क प्रयोगबारेको नीतिलाई कडाइ गर्न थालेपछि अरु देशहरुले पनि मास्क प्रयोग नीतिबारे परिमार्जन गर्न थाल्नेछन्। पछिल्लो समय अमेरिकाले भ्याक्सिन लगाएका व्यक्तिले पनि कार्यालय तथा कोठाभित्र र कोरोना संक्रमणको उच्च सम्भावना भएका सार्वजनिक स्थलमा पनि मास्क प्रयोग गर्न सूचना जारी गरेको छ।

महामारीको अवधिभरि अमेरिकामा मास्क प्रयोग गर्ने विषयबारे विभिन्न विचार आएका थिए। अमेरिकी जनस्वास्थ्यविज्ञले मास्कको प्रयोग तथा स्वास्थ्य मापदण्ड पालनामा जोड दिए पनि त्यसबेला सरकारले कडाइसाथ पालना गरेन।

चीनको नयाँ गाइडलाइन अनुसार अब आम सर्वसाधारणले सपिङ मल, सुपरमार्केट, सिनेमा, प्रदर्शनीस्थल, एयरपोर्ट, सार्वजनिक यातायात र इलिभेटरमा अनिवार्य रुपमा मास्क लगाउनुपर्छ। अब मास्क बाहिरी भीडभाडयुक्त स्थल जस्तो पार्क, पब्लिक स्क्वायरमा पनि अनिवार्य गरिएको छ। चीनमा अघिल्लो वर्षको मे महिनामा जारी गरिएको गाइडलाइन अनुसार भेन्टिलेटरयुक्त भीडभाड नभएका भित्री कोठा तथा आउटडोर क्षेत्रमा मास्क प्रयोगलाई अनिवार्य गरिएको थिएन।

चीनले अहिले जारी गरेको नयाँ गाइडलाइन अनुसार उच्च जोखिममा रहेका कामदार तथा कर्मचारीलाई भाइरस संक्रमणको उच्च जोखिम रहने भएकाले उनीहरुलाई पनि मास्क प्रयोगमा कडाइ गरिएको छ। यस समूहमा स्वास्थ्यकर्मी, सुरक्षागार्ड, चालक र विभिन्न मुलुकका लागि सामान लोड गर्ने कामदार पर्छन्, जो बन्दरगाह, एयरपोर्ट, भन्सार र अस्पतालमा काम गर्छन्।

गत महिना पूर्वी चीनको सियांशु प्रान्तको नान्जिनमा डेल्टा भेरियन्टको संक्रमण भेटिएको थियो, जहाँ एयरपोर्टमा सफाइ काम गर्ने ९ कामदारमा संक्रमण फेला परेको थियो। अधिकारीका अनुसार ती सफाइ कर्मचारीले रसियाबाट आएको जहाज सफा गर्ने क्रममा कडाइका साथ महामारी रोकथाम गाइडलाइन पालना गरेका थिएनन्। त्यही भएर ती कर्मचारीले अन्य साथीहरुलाई संक्रमण सार्नुभन्दा पहिले नै उनीहरु आफैं संक्रमित भएको पुष्टि भएको थियो। 

अधिकारीका अनुसार हटस्पट मानिएको पूर्वी सहर याङजुमा रहेको बुढाबुढीबीच लोकप्रिय माजोङ पार्लरले कोरोना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। यो सहरमा दुई सातामा सातौं पटक मास परीक्षण गरिँदा दुई दर्जन नयाँ केस देखिएका छन्।

चीनभरि ४७ स्थानमा लक्षणसहितको संक्रमण देखिएको राष्ट्रिय स्वास्थ्य कमिसनले जनाएको छ। चीनमा पछिल्लो महामारीसँगै १ हजारभन्दा बढी केस देखिएका छन् भने दैनिक रुपमा यो संख्या बढ्दै गएको छ। यसरी चीनभरि डेल्टा भाइरस संक्रमण बढेसँगै भ्याक्सिनको विश्वसनीयतामाथि समेत प्रश्न उठेको छ। कमिसनका अनुसार चीनमा ७७० मिलियन जनतालाई भ्याक्सिन लगाइएको छ। अर्कोतर्फ, अमेरिकामा भने ५० प्रतिशतभन्दा बढी व्यक्तिले मात्र भ्याक्सिन लगाएका छन्। (सिएनएनबाट)

Logo