अफगानिस्तानबाट धमाधम स्वदेश फर्कदै कूटनीतिक नियोगका अधिकारी

अफगानिस्तानबाट धमाधम स्वदेश फर्कदै कूटनीतिक नियोगका अधिकारी

केन्द्रबिन्दु
0
Shares

तालिबान लडाकुले अफगानिस्तानका करिब आधा प्रान्तमा आफ्नो नियन्त्रण कायम राखेपछि काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक अधिकारी घर फर्कन थालेका छन्। तालिबानले काबुललाई नियन्त्रणमा लिन त्यसतर्फ आफ्नो सैन्य शक्ति केन्द्रित गर्न लागेपछि त्यहाँ सरकारी सेना र तालिबानबीच ठूलो भिडन्त हुने सम्भावना बढेको छ।

काबुलस्थित स्थानीय पत्रकार जुबेर बाबाकर्खाइल तालिबानले अफगानिस्तानका १७ प्रान्तलाई आफ्नो नियन्त्रणमा लिइसकेको र अब उनीहरु काबुलतर्फ अगाडि बढ्न लागेको भयानक भिडन्त हुनसक्ने बताउँछन्। यही त्रासले काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक अधिकारीले असुरक्षा महसुस गर्दै घर फर्कन थालेका उनको भनाइ छ। डेनमार्क, नर्वे लगायत मुलुकले आफ्ना दूतावास पूर्ण रूपमा बन्द गर्ने घोषणा गरिसकेका छन्।

‘अहिले अवस्था एकदमै तनावपूर्ण बन्दै गएको छ, कि त तालिबानले अन्तर्राष्ट्रिय दबाबका कारण युद्घविराम गर्नुपर्यो कि चाहिँ सरकारले वार्ताका लागि मध्यस्थता खोज्नुपर्यो नत्रभने अवस्था डरलाग्दो बन्दै गएको छ,’ उनले भने, ‘यही अवस्थाले गर्दा यहाँका कूटनीतिक निकाय धमाधम खाली हुँदै गएका छन्।’  

 यसैबीच, अमेरिकाले अफगानिस्तानमा फसेका नागरिकको उद्धारका लागि आफ्नो फौज परिचालन गर्ने भएको छ। इसका लागि थप तीन हजार फौज अफगानिस्तानमा खटाउने निर्णय भएको अमेरिकी अधिकारीले जनाएका छन्।

काबुलबाट ८० किलोमिटर दक्षिणमा रहेको पुल–ए–आलम सहित आधा प्रान्तीय राजधानी तालिबानहरूले कब्जा गरिसकेका छन्। अफगानिस्तानको अवस्था नियन्त्रण बाहिर गइसकेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ। 

अमेरिकी र अन्य विदेशी सेनाहरूले २० वर्षको सैनिक कारबाहीपछि आफ्ना फौजहरू फिर्ता गरेपछि तालिबानहरूले आफ्नो नियन्त्रण विस्तार गरेका हुन्।

पछिल्लो लडाइँले सन् २००१ मा तालिबानहरूलाई सत्ताबाट बाहिर पुर्याइएपछि मानवअधिकारको क्षेत्रमा प्राप्त भएका उपलब्धि गुम्ने भय व्यक्त भइरहेका छन्।

सन् १९९० को दशकमा तालिबानको शासनकालमा महिलाहरूलाई पूरै शरीर ढाकिने गरी बुर्का लगाउन बाध्य परेका थिए भने १० वर्ष भन्दा बढी उमेरका बालिकालाई शिक्षा लिन बन्देज लगाएका थिए।

उनीहरूले सार्वजनिक स्थलमा मृत्युदण्ड दिने क्रुर दण्ड दिने प्रणाली कायम राखेका थिए। तालिबानहरूले देशको दोस्रो ठूलो शहर कान्दहार र त्यहाँबाट नजिकैको लास्कर गाह र पश्चिमको हेरत प्रान्त नियन्त्रणमा लिइसकेका सकेका छन्।

अमेरिकी कूटनीतिक कर्मचारीलाई उद्धार गर्न खटिएका तीन हजार फौजमध्ये अधिकांश साताको अन्त्यसम्म आइपुग्ने छन्। अमेरिकाले दैनिक हजारौँ व्यक्तिहरूलाई काबुलबाट हवाई उद्धार गर्ने लक्ष्य राखेको छ।

पछिल्लो अमेरिकी गुप्तचरी विश्लेषणले तालिबानहरूले तीन महिनाभित्र राजधानी काबुललाई नियन्त्रणमा लिनसक्ने जनाएको छ। काबुलबाट ८० किलोमिटर दक्षिणमा रहेको पुल–ए–आलम सहित आधा प्रान्तीय राजधानी तालिबानहरूले कब्जा गरिसकेका छन्। (बिबिसीको सहयोगमा)

Logo