अमेरिकी राष्ट्रपति बाइडनको जिकिरः अफगानिस्तानबाट सेना फिर्ता बोलाउने निर्णय सही थियो

अमेरिकी राष्ट्रपति बाइडनको जिकिरः अफगानिस्तानबाट सेना फिर्ता बोलाउने निर्णय सही थियो

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी बहिर्गमनको निर्णयमा आफू "पूर्ण रूपमा" कटिबद्ध रहेको बताएका छन्।

युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि चौतर्फी आलोचना खेपिरहेका बेला उनले आफ्नो निर्णयको बचाउ गरेका हुन्। "कति थप अमेरिकी जीवन त्यसको लागि अर्पण गर्नुपर्थ्यो?" राष्ट्रपतिले भने।

उनले काबुलका "अत्यन्त विदारक" दृश्यका बावजूद "अमेरिकी फौज हटाउने उपयुक्त समय कहिल्यै पनि हुने थिएन" भनेका छन्।

अफगान राष्ट्रपति अशरफ घानीले देश छाडेर उनको सरकार ढलेपछि आइतवार तालिबानले लडाइँ जितेको घोषणा गरेको थियो।

सशस्त्र विद्रोहीहरू पुन: सत्तामा आउने अवस्थासँगै अफगानिस्तानमा करिब २० वर्ष लामो अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थिति अन्त्य भएको छ।

तालिबानको नियन्त्रणमा जाने काबुल अन्तिम प्रमुख सहर बनेको छ। तालिबानले महिनौँअघिदेखि देशैभरि आफ्नो नियन्त्रण विस्तार सुरु गरेका थिए।

पछिल्ला दिनहरूमा त्यो गति तीव्र बन्यो र उनीहरूले केही दिनभित्रै अफगानिस्तानभरि आफ्नो नियन्त्रण कायम गरे।

तालिबानको यस्तो तीव्र विस्तारले धेरै विश्लेषकलाई पनि झड्का लगाइदिएको छ। राष्ट्रपति बाइडन क्याम्प डेभिडबाट सोमवार ह्वाइट हाउस फर्केर करिब एक सातापछि अफगानिस्तानबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले भने, "जे होस्, गत साताका विकासक्रमले अफगानिस्तानमा अमेरिकी सैन्य संलग्नता अहिले अन्त्य गर्नु उचित निर्णय थियो भन्ने पुष्टि गर्छ।"

"अफगान फौजले उनीहरूकै लागि लड्न नचाहेको लडाइँ अमेरिकी सैनिकहरू लड्न सक्दैनन् न त लड्नु नै हुन्छ।"

अमेरिकी सैन्य फिर्तीको उनको निर्णयपछि काबुलमा देखिएको उथलपुथललाई लिएर बाइडनले चर्को राजनीतिक आलोचनाको सामना गर्नुपरेको छ। उनले सोमवार अफगानिस्तानमा अमेरिकी मिसन कहिल्यै पनि राष्ट्र निर्माणका लागि ठानिएको थिएन भनेका छन्।

उनले आफू उप-राष्ट्रपति हुँदा सन् २००९ मा त्यसबेलाका राष्ट्रपति बराक ओबामाले अफगानिस्तानमा थप हजारौँ सैनिकहरू पठाउने निर्णय गर्दा त्यसको विपक्षमा उभिएको स्मरण गरे।

उनले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका बेला तालिबानसँग भएको सम्झौता अनुसार आफूले अमेरिकी सैन्य फिर्तीको निर्णयलाई अघि बढाएको पनि उल्लेख गरे।बीबीसीबाट

Logo