काबुल विमानस्थलमा भिड अनियन्त्रित भएपछि कम्तीमा ९ जनाको मृत्यु

काबुल विमानस्थलमा भिड अनियन्त्रित भएपछि कम्तीमा ९ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि देश छाड्न खोजिरहेका सयौँ मानिसहरूबीच काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अनियन्त्रित अवस्था सिर्जना हुँदा केही मानिसहरू मारिएका छन्।

त्यहाँ कम्तीमा नाै जनाको मृत्यु भएको विवरण सार्वजनिक भएका छन्। अफगानहरू विमानमा टाँसिएका र त्यो धावनमार्गबाट उडेपछि खसेको देखिएको छ।

यात्रुहरूका अनुसार भिसाबिनै मानिसहरूलाई यात्रा गर्न दिइएको हल्लाले गर्दा ठूलो भिडभाड भएको त्यहाँ रहेका बीबीसी संवाददाता बताउँछन्।

''सामाजिक सञ्जालमा देखा परेका भिडिओमा मानिसहरू ठेलमठेल गरेर विमान चढ्न खोजेको देखिन्छ। अफगान सञ्चारमाध्यमहरूले पाएकाे एउटा भिडिओमा उडेको विमानमा टाँसिएका तीन जना खसेको देखिन्छ,'' संवाददाता सिकन्दर केर्मानीले भने।

सोमवार दिल्ली आइपुगेकी एक महिलाले विश्वले अफगानिस्तानलाई यसरी अलपत्र छाडेकोमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिइन्। ''हाम्रा साथीहरू मारिनेछन्। उनीहरूले मार्नेछन्। हाम्रा महिलाहरूले अब अधिकार पाउने छैनन्,'' काबुलबाट आइपुगेकी उनले रुँदै भनिन्।

प्रत्यक्षदर्शीहरूका अनुसार अमेरिकी फौजले विमानतर्फ देखा परेका अनियन्त्रित भीडलाई तितरबितर पार्न हवाई फायर गरेको थियो।

तीन जनाको शव फेला परे पनि उनीहरूको मृत्यु गोली लागेर वा भाग दौडमा के भएर भएको हो भन्ने स्पष्ट छैन।

अमेरिकी राष्ट्रपति जो बाइडनका सहायक राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन फिनरले अफगानिस्तानको अवस्था आफूहरूले सोचेभन्दा तीव्र गतिमा बिग्रिएको स्विकारेका छन्।

उनले अमेरिकाले सोमवारसम्ममा काबुल विमानस्थललाई सुरक्षित पार्ने बताएका छन्।

दोस्रो दिन कस्तो रह्यो?

तालिबान लडाकुहरू काबुल प्रवेश गरेको दोस्रो दिन साेमबार अफगानिस्तानको राजधानीमा एउटा असहज स्थिरता देखा परेको छ।

दिनभरजसो अधिकांश व्यवसाय र कार्यालयहरू त्यहाँ बन्द रहे। सशस्त्र लडाकुहरूले पीकअप भ्यानहरूमा तालिबानको झन्डा फहराउँदै सडकमा गस्ती गरेका थिए। तर अझै काबुल सहर वा अफगानिस्तानको नेतृत्व कसले गरिरहेको छ भन्ने स्पष्ट छैन।

एकजना महिला अधिकारवादी महबुवा सेर्जाले भनिन्, ''हामी एउटा ज्वालामुखीभित्र बसेका छौँ। किनकि यहाँबाट जुनकुनै बेला जे पनि विस्फोट हुन सम्भव छ।'' तालिबानले भने सरकारी कर्मचारीहरूलाई काममा फर्कन भनेको छ।

केही खबरहरूका अनुसार लडाकुहरूले केही पत्रकारका घरमा खानतलासी गरेका थिए। तर यसअघि बीबीसीसँग बोल्दै तालिबानका प्रवक्ताले तटस्थ रहेको अवस्थासम्म पत्रकारहरूले काम गर्न पाउने बताएका थिए।बीबीसीबाट

Logo