तालिवानले सत्ता कब्जा गरेदेखि अफगानिस्तानका मिडियाको ‘न्यूज अपडेट’ ठप्प

तालिवानले सत्ता कब्जा गरेदेखि अफगानिस्तानका मिडियाको ‘न्यूज अपडेट’ ठप्प

केन्द्रबिन्दु
0
Shares

तालिवानले अगस्ट १५ मा अफगानिस्तानको राजधानी काबुलमाथि कब्जा जमायो। तालिवानको आगमनसँगै अफगानिस्तानका सञ्चारमाध्यम ठप्प भएका छन्। 

अफगानिस्तानको प्रमुख सञ्चारमाध्यम मध्ये एक ‘अफगानिस्तान टाइम्स’ले अगस्ट १४ पछि आफ्नो वेबसाइटमा कुनै पनि नयाँ समाचार वा अन्य सामग्री राखेको छैन। 

अगस्ट १४ मा वेबसाइटमा राखिएको ‘वर्ल्ड वान्स तालिवान अफ आइसोलेसन’ (अर्थात् तालिवानलाई विश्वले एक्ल्याउने चेतावनी दिएको छ) शीर्षकको समाचार उक्त सञ्चारमाध्यमको सबैभन्दा पछिल्लो समाचार हो। 

सन् १९६२ मा स्थापना भएको सरकारी स्वमित्वको ‘काबुल टाइम्स’ले अगस्ट १५ मा अफगानी राष्ट्रपति असरफ घानीले अफगानिस्तानमा थप अस्थिरता हुन नदिने भनी दिएको वक्तव्यबारे समाचार प्रकाशित गरेपछि कुनै पनि समाचार थप गरेको छैन। 

अफगान सरकारको स्वामित्वमा रहेको ‘बख्तार न्युज एजेन्सी’ले पनि अगस्ट १४ पछि आफ्नो साइटमा कुनै पनि अपडेट राखेको छैन। दारी, अंग्रेजी र पास्तो भाषालाई अपनाउँदै आएको ‘बख्तार न्युज एजेन्सी’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको समाचार संकलन गरेर देशभरका सञ्चार माध्यमलाई उपलब्ध गराउने भएकाले यसको निष्क्रियताले अफगानिस्तानमा सूचना सम्प्रेषणलाई गम्भीर तवरले कमजोर बनाएको छ।  

‘डेली आउटलुक अफगानिस्तान’ देशकै पहिलो स्वतन्त्र अंग्रेजी दैनिक हो। यस सञ्चारमाध्यमले पनि अगस्ट १५ भन्दा यता आफ्नो वेबसाइटमा कुनै नयाँ समाचार राखेको छैन। यस सञ्चारमाध्यमले सम्पादकीय मार्फत् तालिवानविरुद्ध आवाज उठाउँदै आएको थियो। 

अफगानिस्तानका सञ्चारमाध्यम ठप्प भएसँगै अफगानिस्तानमा के हुँदैछ भन्नेबारे प्राथमिक जानकारी पाउन असहज भएको छ। 

तालिवानको आगमनसँगै सिर्जना भएको त्रासले सर्वसाधारणसँगै सञ्चारमाध्यमलाई पनि प्रभावित गरेको अफगानिस्तानका सञ्चारमाध्यमको निष्क्रियताबाट स्पष्ट हुन्छ। अफगानिस्तानका पत्रकारहरू आफू तालिवानको आगमनसँगै भयभित भएको र काम गर्ने वातावरण नभएको बताउँछन्। 

‘तालिवानले वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको नारा दिएको खण्डमा पनि त्यो कार्यान्वयनमा आउँछ भन्नेमा मलाई विश्वास छैन,’ अफगानी पत्रकार जुबैर बबकरखाइल भन्छन्। 

अमेरिकाको रक्षा मन्त्रालयले सञ्चालन गरेको सञ्चार माध्यम ‘स्टार्स एन्ड स्ट्राइप्स’का लागि काम गर्दै आएका बबकरखाइल घरबाट लुकेर काम गरिरहेको बताउँछन्। 

अर्कोतर्फ तालिबानले अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)सेनासँग काम गर्ने मानिसको खोजी तीव्र बनाएको संयुक्त राष्ट्रसंघको एउटा गोप्य दस्तावेजमा भनिएको छ। अफगान ताालिवानले विरोधीहरूविरुद्ध कुनै बदला नलिने प्रतिवद्धता गरे पनि आन्तरिकरूपमा उनीहरूले अमेरिका र नेटो सेनालाई सहयोग गरेका अफगानहरूको खोजी गरेका पाइएको हो। 

पछिल्ला केही हप्ताहरूमा तालिवान र अफगानिस्तानी सत्ता पक्षबीच द्वन्द्व चर्किएको भए पनि १० दिनभित्र नै तालिवान राजधानी काबुललगायत मुख्य सहरलाई आफ्नो नियन्त्रणमा ल्याएको हो। कहीँ भिडन्तबाट जीत हासिल गर्दै त कहीँ अफगान राष्ट्रिय सेनाको आत्मसमर्पणले तालिवानलाई अफगानिस्तानको सत्तामा पुर्यायो।

Logo