अफगानिस्तानबाट अमेरिकालाई सेना फिर्तिको मिति सार्न अन्तर्राष्ट्रिय दबाब

अफगानिस्तानबाट अमेरिकालाई सेना फिर्तिको मिति सार्न अन्तर्राष्ट्रिय दबाब

केन्द्रबिन्दु
0
Shares

अगस्टको अन्त्यसम्मका लागि तय भएको अमेरिकाको अफगान सैन्य मिसनको समयावधी बढाउन अमेरिकालाई अन्तर्राष्ट्रियस्तरमा दबाब सिर्जना भएको छ। 

बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेरले अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता लग्नुलाई ‘दुःखद्, खतरनाक र अनावश्यक’ भनेका छन्। नेटो राष्ट्रका सेना अफगानिस्तानबाट फिर्ता हुनुले जिहादी समूहलाई फाइदा पुर्याउने ब्लेरको ठम्याइ छ। ‘यो अफगान नागरिकको बारेमा मात्रै नभई हाम्रो सुरक्षाको बारेमा पनि हो,’ ब्लेरले भनेका छन्। 

ब्लेरले अमेरिकासँग मिलेर सन् २००१ मा अफगानिस्तानबाट तालिवानलाई हटाउने कारवाहीमा बेलायतको नेतृत्व गरेका थिए।  

तालिवानले अफगानिस्तान कब्जा गरेपछि बाहिरिन चहाने सबैजनाको उद्धार नभएसम्म अमेरिकी र नेटो सेनाले अफगानिस्तान छाड्न नहुने समेत ब्लेरले बताए। बेलायतका पूर्व सेना प्रमुख लर्ड रिचार्ड्सले पनि अमेरिकाको फिर्तिको मिति सारिए धेरै ज्यानहरू बच्ने बताएका छन्। 

तालिवानले अफगानिस्तानमाथि कब्जा जमाएको साता बितिसक्दा पनि लाखौँ मानिस देश छाड्नका लागि काबुलस्थित विमानस्थलमा जम्मा भइरहेका छन्। अफगानिस्तान छोड्न चाहने मानिसहरूको हुलमा २० जनाभन्दा बढीले ज्यान गुमाइसकेको नेटो अधिकारीले जनाएका छन्।

उद्धारका लागि व्यावसायिक हवाइजहाजहरू पनि प्रयोग गरिने अमेरिकाको रक्षा मन्त्रालयल जनाएकोे छ। 

यता काबुल विमानस्थलमा आतङ्ककारी आक्रमण हुन सक्ने अमेरिकाले बताएको छ। इस्लामिक स्टेट (आईएस) समूहको अफगानिस्तान शाखाबाट आक्रमणको सम्भावना रहेको भन्दै अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल नजिक नरहन सचेत पनि गराएको छ।

Logo