अमेरिकी बैंकमा रहेको अफगानिस्तानको २२ टन सुन बाइडेन सरकारद्वारा रोक्का

अमेरिकी बैंकमा रहेको अफगानिस्तानको २२ टन सुन बाइडेन सरकारद्वारा रोक्का

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको जो बाइडेनको सरकारले अर्बौं अमेरिकी डलरसम्म तालिवानको पहुँच पुग्न नदिन अमेरिकी बैंकहरूमा रहेका अफगानिस्तान सरकारका नगद तथा सुनको कारोबार रोक्का गरेको छ। अमेरिकाको यस सम्पत्ति रोक्का अभियानभित्र न्युयोर्कको फेडरल रिजर्भ बैंकको सुन पनि परेको छ।

अफगानिस्तानको केन्द्रीय बैंकका अनुसार सन् २०२० डिसेम्बरसम्मको तथ्यांकअनुसार न्युयोर्क बैंकमा मात्र अफगान सरकारको झन्डै २२ टन सुन डिपोजिट रहेको छ।

लन्डन बुल्लिअन मार्केट एसोसियसन (एलबीएमए)ले अहिलेको प्रचलित अन्तर्राष्ट्रिय मूल्यअनुसार सो परिमाणको सुनको मूल्य १ अर्ब २५ करोड अमेरिकी डलर रहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अफगानिस्तानको ऋण सापट लिने श्रोतहरूको पहुँच निलम्बन गरेको भोलिपल्ट अमेरिकाले यो कदम चालेको हो।

गत २३ अगस्टमा आईएमएफले कोरोना भाइरस महामारीका कारण प्रभावित भएको अफगानिस्तानको अर्थतन्त्रलाई मद्दत पुर्‍याउने उद्देश्यले अफगानिस्तान सरकारलाई ३७ करोड डलर क्रेडिट सुविधा दिने तयारी गरेको थियो। अब सो क्रेडिट पनि रोकिने भएको छ। अमेरिकालगायत अन्य विभिन्न मुलुुकका अन्य बैंकहरूमा जम्मा गरिएको कुल सुनको परिमाणमध्ये न्युयोर्क बैंकमा राखिएको सुनको परिमाण १० प्रतिशतभन्दा बढी रहेको बताइएको छ।

त्यसैगरी, डा अफगानिस्तानको नामले चिनिने केन्द्रीय बैंकमा गत जुन महिनासम्ममा अफगान सरकारको १० अर्ब डलर बराबरको सम्पत्ति जगेडा रहेको सो बैंकद्वारा प्रकाशित पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ। विश्व बैंकका अनुसार सन् २०२० मा अफगानिस्तानको कुल ग्राहस्थ उत्पादन (जीडीपी) करिब २० अर्ब डलर रहेको थियो।

अमेरिकी सरकारले तालिवानले अफगानिस्तानमा नियन्त्रण लिएको तीन वर्षपछि अर्थात् सन् १९९९ मा पनि अफगानिस्तानको सम्पत्ति रोक्का गरेको थियो। अमेरिकी सेनाले तालिवान सरकार अपदस्थ गरेपश्चात् अर्थात् सन् २००२ को जनवरीमा फेडरल रिजर्भ बैंक अफ न्युयोर्कले १९ करोड ३० लाख डलर बराबरको सुन र २ करोड ४० लाख डलर फुकुवा गरेको थियो।(एजेन्सी) 

Logo