तालिवानको कब्जापछि अफगान शरणार्थीका सम्भावित गन्तव्यहरू

तालिवानको कब्जापछि अफगान शरणार्थीका सम्भावित गन्तव्यहरू

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तान तालिवानको पोल्टामा परेसँगै देश छोड्न चाहनेहरूको संख्या बढ्दो छ। तालिवानले कब्जा जमाउनुपूर्व नै २२ लाख अफगान शरणार्थी छिमेकी मुलुकहरूमा रहँदै आएको र ३५ लाखभन्दा बढी अफगानिस्तानको सीमाभित्रै विस्थापित भइसकेको अवस्थामा त्यस्तो आँकडा फेरि उकालो लाग्न लागेको छ। 

अफगानिस्तानको छिमेकी मुलुकसँगका अधिकांश सीमा–नाका तालिवानको नियन्त्रणमा रहेका छन्। 

‘नियमित बाटोबाट अफगानहरू देशबाहिर निस्कने अवस्था छैन,’ राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग (यूएनएचसीआर)का प्रवक्ताले भने, ‘खतरामा रहेकाहरू कसरी निस्कन्छन् भन्ने अहिलेसम्म पनि स्पष्ट छैन।’

यद्यपि, केही शरणार्थीहरू अफगानिस्तानबाट बाहिरिएका छन्। तालिवानले काबुलमाथि कब्जा जमाएलगतै हजारौँ शरणार्थी पाकिस्तान प्रवेश गरेको र १५ सय हाराहारी शरणार्थी उज्वेकिस्तान पुगेको रिपोर्टहरूले जनाएका छन्।

हजारौँको संख्यामा मानिसहरू उद्धारको अपेक्षासहित काबुल एयरपोर्ट पुगिरहेका छन्। नेटोका अनुसार १८ हजारभन्दा बढी मानिसको उद्धार सो एयरपोर्टबाट भइसकेको छ। 

यूएनएचसीआरका अनुसार तालिवानले अफगानिस्तानमाथि कब्जा जमाउनुपूर्व नै ५ लाख ५० हजार मानस यसवर्ष आफ्नो बासस्थानबाट विस्थापित भएका थिए।  

यसै वर्ष अफगानहरूले खडेरी र खाद्य सामग्रीको अभावको पनि सामना गर्नुपर्यो। संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका अनुसार अफगानिस्तानमा १ करोड ४० लाख अर्थात् कूल जनसंख्याको एक–तिहाई मानिस भोकमरीबाट ग्रस्त रहेका थिए। 

अघिल्लो वर्ष अफगान शरणार्थीका तीन मुख्य गन्तव्य पाकिस्तान, इरान र जर्मनी रहेका थिए। यूएनएचसीआरको तथ्याङ्क अनुसार सन् २०२० मा पाकिस्तानमा १४ लाख ५० हजार, इरानमा ७ लाख ८० हजार र जर्मनीमा १ लाख ८१ हजार १ सय अफगान नागरिकले शरण पाएका थिए। साथै टर्की, अस्ट्रिया, फ्रान्स, ग्रीस, स्वीडेन, स्वीजरल्यान्ड, भारत, इटाली, बेलायत, अस्ट्रेलिया, बेल्जिम र इन्डोनेसियामा पनि हजारौँको संख्यामा अफगान शरणार्थी रहेको सो तथ्याङ्कले देखाएको छ। 

तालिवानी कब्जापछि शरणार्थीलाई सहयोगको वातावरण कुन देशमा कस्तो?

तालिवानको सत्ताकब्जापछि आफ्नो देश छोडिरहेका अफगानहरूलाई केही देशहरूले सहयोगको प्रतिबद्धता जनाएका छन् भने केही देशले उनीहरूलाई शरण नदिने जनाएका छन्। 

इरान
स्थिति सहज भएपछि फिर्तिको सर्तमा इरानले शरणार्थीहरूलाई वासस्थानको व्यवस्था गरेको छ। 

पाकिस्तान
तालिवानले अफगानिस्तानमाथि नियन्त्रण कायम गरे सीमा बन्द गर्ने पाकिस्तानले जनाएको थियो। तर, रिपोर्टका अनुसार हजारौँ शरणार्थी पाकिस्तान पुगेका छन् र कम्तिमा एउटा नाका खुला नै छ। 

ताजिकिस्तान
अफगान सैनिकसहित सयौँ शरणार्थी ताजिकिस्तान पुगेको रिपोर्टहरूले बताउँछन्। जुलाईमा ताजिकिस्तानले एक लाख अफगान शरणार्थीलाई ठाउँ दिने बताएको थियो।
 
उज्वेकिस्तान
१५ सय अफगान शरणार्थी उज्वेकिस्तान पुगेर क्याम्पमा रहेको बताइन्छ। 

बेलायत
दीर्घकालमा २० हजार अफगान शरणार्थीलाई शरण दिने बेलायतले बताएको छ। 

अमेरिका
कति संख्यामा शरणार्थी भित्र्याउने भन्ने स्पष्ट नपारेको भए पनि अमेरिकाले अफगान शरणार्थीहरूको व्यवस्थापनका लागि ५० करोड अमेरिकी डलर छुट्याएको छ।

क्यानडा
क्यानडाले पनि तालिवानबाट पीडित २० हजार अफगान शरणार्थीलाई स्थान दिने बताएको छ।

अस्ट्रेलिया
मानवीय भिसाअन्तर्गत ३ हजार अफगान शरणार्थीलाई स्थान दिने अस्ट्रेलियाले जनाएको छ। 

उत्तरी म्यासेडोनिया, अल्बानिया र कोसोभा
उत्तरी म्यासेडोनिया र अल्बानियाले क्रमशः ४ सय ५० र ३ सय शरणार्थीलाई स्थान दिने बताएका छन्। यद्यपि, यो अल्पकालीन हुनेछ। कोसोधोले पनि शरणार्थीलाई सहयोगको आश्वासन दिएको छ। 

युगान्डा
२ हजार अफगान शरणार्थीलाई स्थान दिने युगान्डाले बताएको छ। युगान्डा अफ्रिकाभरमा सबैभन्दा बढी र विश्वभरमा तेस्रो बढी शरणार्थी रहेको देश हो। 

(बीबीसीको यो रिपोर्ट केन्द्रविन्दुका लागि कुशल बस्नेतले भावानुवाद गरेका हुन्) 

Logo